एजेन्सी। भारतको वाडिया ग्रुपको स्वामित्वमा रहेको वायुसेवा कम्पनी ‘गो फर्स्ट एयरलाइन्स’ टाट पल्टिएको छ।
गो फर्स्टले टाट पल्टिएको घोषणा गर्दै भारतको राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणसमक्ष स्वेच्छिक खारेजीका लागि निवेदन दिएको छ।
एयरलाइन्स खारेजीमा लैजान न्यायाधीकरणमा निवेदन दिइएको गो फर्स्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कौशिक खोनाले बताए।
एयरलाइन्सले सरकारलाई घटना क्रमबारे जानकारी गराएको छ र उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशकको कार्यालय (डिजिसिए) लाई विस्तृत प्रतिवेदन बुझाउने भएको छ। गो फर्स्ट भारतको पाँचौं ठूलो वायुसेवा हो। यसको यात्रु हिस्सा ८.४ प्रतिशत छ।
इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीको इन्टरनेसनल एरो इन्जिन (आइएइ) द्वारा आपूर्ति गरिएका इन्जिन लगातार असफल भएपछि खारेजीमा जाने निर्णय गर्नुपरेको सिइओ खोनाले स्पष्ट पारेका छन्।
जसका कारण गो फस्र्टले २५ जहाज ‘ग्राउन्डेड’ गर्नुपरेको कम्पनीले जनाएको छ। ‘ए३२० निओ’ एयरक्राफ्टका अनुसार प्राट एन्ड ह्विट्नीको दोषपूर्ण इन्जिनका कारण ग्राउन्डेड गरिएका जहाज सन् २०१९ डिसेम्बरमा ७ प्रतिशतबाट बढेर २०२० डिसेम्बरमा ३१ प्रतिशत पुगेको थियो।
यदि प्राट एन्ड ह्विट्नीले आपतकालीन मध्यस्थताको आदेशको पालना गर्ने हो भने गो फर्स्ट आगामी अगस्ट र सेप्टेम्बरसम्म पूर्णसञ्चालनमा फर्कन सक्षम हुनेछ।
सम्बद्ध स्रोतहरूका अनुसार गो फस्र्टले कम्पनी खारेजीमा जान गरेको फाइलिङबारे ऋणदाताहरू बेखबर थिए। उनीहरूले गो फर्स्टको भावी कार्यदिशाबारे भेटघाट र छलफल गर्ने अपेक्षा गरिएको छ।
वर्तमान परिस्थितिमा गहिरो पश्चाताप गर्दै गो फर्स्टले न्यायाधीकरणमा आवेदन दिन बाध्य हुनुपरेको जनाएको छ। यसअघि गो फस्र्टले तेल कम्पनीहरूको बक्यौता रहेकाले वैशाख ३ र ४ गते उडान स्थगित गरेको थियो।
गो फस्र्टको नगद प्रवाह गम्भीररूपमा प्रभावित भएको छ। किनभने, यसले आफ्नो जहाज संख्या (फ्लिट) आधाभन्दा बढी समस्या र यसको ए३२० निओ जहाजलाई शक्ति दिने प्राट एन्ड ह्विट्नी इन्जिनबाट इन्जिनको आपूर्ति नहुँदा ग्राउन्डेड गरेको छ।
गो फस्र्टले कम्पनीमा रणनीतिक लगानीकर्ता खोजी गरिरहेको छ। सम्भावित लगानीकर्तासँग कुराकानी गरिरहेको छ।यसका साथसाथै कम्पनीले अमेरिकामा रहेको इन्जिन निर्माताविरुद्ध डेलावेयर संघीय अदालतमा मुद्दा दायर गरेको छ।
जसमा मध्यस्थता पुरस्कार कार्यान्वयनका लागि प्राट एन्ड ह्विट्नीले गो फर्स्टलाई इन्जिनहरू उपलब्ध गराउन आग्रह गरेको छ।
लिज भुक्तानी बाँकी रहेका समेत गरी मार्च ३१ सम्म गो फस्र्टका ३० जहाज ग्राउन्डेड भएका थिए। गो फस्र्टसँग कूल ६१ जहाज छन्। गो फर्स्ट भारतको सस्तोमा उडान गर्ने वायुसेवा कम्पनी हो। वाइडा ग्रुपले २०१७ मा गो फर्स्ट स्थापना गरेको थियो।
(इकोनोमिक टाइम्सको सहयोगमा)