काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको जनाएको छ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखि नै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको हो। ‘विगतका दिनमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ। यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ’, उनले भने।
विमानस्थलको हालको उडान तालिकाभन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले बताएको छ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ। नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्याइने जनाएको छ।
वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले बताएको छ।
निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडान भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ।
‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भएपछि भदौ २४ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो। विमानस्थल सुरक्षा समिति बैठकको निर्णयअनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो। बुधबार साँझदेखि नै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन्।
विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ। साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत भनिएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीन सय बढी उडान हुन्छन्। यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ।
विमानस्थल बिहान ६ः०० देखि राती १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ। आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन्।