काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा २९औं संस्करणको क्यान इन्फोटेक २०२४ सुरु भएको छ। भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेक उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल एपमार्फत गरिन्।
इन्फोटेक उद्घाटन अवसरमा दुई ड्रोनबाट झाँकीसमेत प्रस्तुत गरिएको थियो। पहिलो ड्रोनबाट पुष्पवृष्टि र दोस्रो ड्रोनबाट लिडबोर्डसहित अकासमा क्यान इन्फोटेक शुभारम्भ सन्देशसहितको भिडिओ प्रदर्शनी गरिएको थियो।
मन्त्री शर्माले क्यान इन्फोटेक सफलताको शुभकामना दिँदै सरकारका तर्फबाट साथ रहने बताइन्। सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ।’
आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायत क्षेत्रमा डिजिटल साक्षरता र प्रविधि प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग उनले आग्रह गरिन्।
सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउँदै मन्त्री शर्माले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुन तयारी भइरहेको जानकारी दिइन्।
उनले सरकारले आयोजना गर्ने डिजिटल च्याम्पियन कार्यक्रममा निजी क्षेत्रका तर्फबाट क्यान महासंघसँग सहकार्य गर्ने पनि बताइन्।
क्यान इन्फोटेक २०२४ लाई एस पावर बीपीईले शीर्ष प्रायोजन गरेको छ। क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई १०० र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ। टिकट इसेवाबाट खरिद गर्न सकिनेछ।
६ वर्षदेखि क्यान महासघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेनेदार तथा विपन्न विद्यार्थीलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति दिँदै आएको छ। यो छात्रवृत्ति यस वर्ष क्यान इन्फोटेकको पहिलो दिन सो छात्रवत्ति घोषणा गरिएको छ।
नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुनेछ। यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्कसमेत सञ्चालन गरिनेछ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य सरकारका साथ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा समार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ। क्यान इन्फोटेकमा ब्रान्डिङ, आईसिटी एसेसरिज प्रडक्ट लन्चिङ, सिआईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियन व्यवस्था गरिएको छ।
यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिने महासंघले जनाएको छ। इन्फोटेकमा नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सोलुसनलाई प्राथमिकता दिइनेछ।
यसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टल व्यवस्था गरिनेछ। क्यान इन्फोटेक करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा एस पावर, सहयोगी प्रायोजकमा एचएमसी÷दहुआ, प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टायल अफिस सिस्टम रहेका छन्। त्यस्तै, सिल्भर स्पोन्सरमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम÷ एनटेक र पिएनवई रहेका छन्।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा, इन्टरनेट पार्टनरमा डिसमिडिया नेटवर्क, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ट्रेडिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।
फुड एन्ड बेभरेज पार्टनरमायाकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसन पार्टनरमा मण्डला सिस्टम प्रालि, स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सिसीटिभी पार्टनरमा एचएमसी÷दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन्।
प्रदर्शनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, उद्योग वाणिज्य महासघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेटलगायतका संस्थाले सहयोग गरेका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा असोसियो सियो र टिओए सफ्टवेयर कर्प सहकार्य रहेको छ।
क्यान महासंघका अध्यक्ष रणजीत पोदारले सूचना प्रविधिसम्बन्धी नयाँ नीति, कानून तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्ट, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारी, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रमेश मल्ल, क्यान महासंघका संस्थापक निर्देशक विमलकुमार शर्मा, एसोसिओका उपाध्यक्ष एवं क्यान महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवरलगायतले क्यान इन्फोटेक सफलताको कामना गरेका थिए।