काठमाडौं। एप्पललगायत विश्वविख्यात ब्रान्डका ग्याजेटहरू बिक्री गर्दै आएको ओलीज् स्टोर प्राइभेट लिमिटेडले एक बर्षमै करिब डेढ अर्बको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२४/२५ (२०८१/८२) मा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बराबरको कुल व्यापार (सञ्चालन आम्दानी) गरेको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले आफ्नो व्यावसायिक सञ्चालन र चालुपुँजी व्यवस्थापनका लागि बैंकहरूबाट लिने कुल ७० करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि रेटिङ गराएको छ। इन्फोमेरिक्सले कम्पनीको १० करोड ८४ लाख रुपैयाँको दीर्घकालीन बैंक कर्जाका लागि ‘बीबी माइनस’ र ६८ करोड ९१ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ प्रदान गरेको छ।
सन् २०१० देखि सञ्चालनमा आएको ओलीज् स्टोरको व्यापारिक यात्रामा उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०२२ मा १ अर्ब ५२ करोडको व्यापार गरेको कम्पनीको आम्दानी सन् २०२३ मा ह्वात्तै घटेर ८५ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो। सरकारले विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध र ६०० डलरभन्दा महँगा मोबाइल फोन आयातमा रोक लगाएका कारण एप्पलका उत्पादन मुख्य व्यापार रहेको ओलीज् स्टोरको आम्दानीमा ४४ प्रतिशतको गिरावट आएको थियो। तर, आयात प्रतिबन्ध हटेसँगै कम्पनीले पुनः गति लिएको छ। आर्थिक वर्ष २०२४ मा १ अर्ब ३१ करोड ९० लाखको व्यापार गरेको यसले २०२५ मा १ अर्ब ४९ करोड पुर्याएर आफ्नो लय समातेको हो।
व्यापार बढे पनि कम्पनीको नाफाको मार्जिनमा भने केही संकुचन देखिएको छ। प्रतिवेदनअनुसार सञ्चालन नाफा सन् २०२३ मा ८.२६ प्रतिशत रहेकोमा २०२५ सम्म आइपुग्दा घटेर ६.५० प्रतिशतमा झरेको छ। त्यस्तै, खुद नाफा पनि ३.२३ प्रतिशतबाट घटेर १.३९ प्रतिशतमा सीमित भएको छ।
कम्पनीको पुँजी र ऋणको अनुपात २.४८ गुणा रहेको छ, जसले पुँजीको तुलनामा ऋणको भार केही बढी रहेको देखाउँछ। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता २.१८ गुणा रहेको छ, जसलाई सन्तोषजनक मानिन्छ।
ओलीज् स्टोरका मुख्य प्रवद्र्धकहरू चेतनप्रसाद ओली (अध्यक्ष) र लोकेश ओली (प्रबन्ध निर्देशक) हुन्। कम्पनीमा दुवैको समान ५०/५० प्रतिशत सेयर स्वामित्व रहेको छ। प्रविधि र सूचना प्रविधि (आइटी) क्षेत्रमा तीन दशक लामो अनुभव भएका ओली दाजुभाइको नेतृत्वमा कम्पनीले देशभर १५ वटा रिटेल आउटलेटहरू सञ्चालन गरिरहेको छ। बलियो डिजिटल उपस्थिति र एप्पल जस्तो प्रिमियम ब्रान्डप्रतिको उपभोक्ता विश्वास नै कम्पनीको मुख्य सबल पक्ष हो।
ओलीज् स्टोरको व्यवसायमा केही गम्भीर चुनौतीहरू पनि विद्यमान छन्। प्रविधि बजारमा नयाँ–नयाँ आविष्कार भइरहने र पुराना मोडलहरू चाँडै आउटडेटेड हुने जोखिम उच्च छ। कम्पनीले विदेशी मुद्रा (डलर) मा सामान आयात गर्ने र नेपाली रुपैयाँमा बिक्री गर्ने भएकाले विनिमय दरमा हुने उतारचढावले लागत बढाउने जोखिम रहन्छ।
यसका साथै, चालुपुँजीको सघनता उच्च हुनु र १२९ दिनसम्म सामान मौज्दात राख्नुपर्ने बाध्यताले कम्पनीको तरलतामा चाप पारेको छ। स्मार्टफोन बजारमा रहेको तीव्र प्रतिस्पर्धा र सरकारको आयात नीतिमा हुन सक्ने फेरबदल पनि कम्पनीका लागि भविष्यका चुनौती हुन्। आगामी दिनमा सञ्चालन खर्च घटाउँदै नाफाको मार्जिन सुधार्न सकेमा कम्पनीको वित्तीय साख अझ मजबुत हुने प्रतिवेदनमा उल्लेख छ।