काठमाडौं । हिमालयन बैंकले हबिव बैंकबाट कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी ग्रुप) लाई संस्थापक सेयर हस्तान्तरण गरेपछि मर्जर प्रक्रिया अघि बढाउने भएको छ । हविव बाहिरिने र सीडीसी भित्रिने भएकाले तत्कालका लागि हिमालयनले मर्जर प्रक्रिया अघि नबढाएको हो ।
सेयर स्वामित्व हस्तान्तरण नहुन्जेलसम्मका लागि मर्जर प्रक्रिया रोक्न नेपाल राष्ट्र बैंकले हिमालयनलाई स्वीकृति दिएको छ । वार्षिक साधारणसभापछि स्वामित्व हस्तान्तरण र त्यसपछि मर्जरको प्रक्रिया अघि बढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशम्शेर राणाले बताए ।
नेपाल राष्ट्र बैंकबाट लाभांश स्वीकृत हुनसाथ वार्षिक साधारणसभा बोलाउने जानकारी दिए । साधारणसभापछि पाकिस्तानको हविवबाट वेलायतको सीडीसीमा संस्थापक सेयर हस्तान्तरणको प्रक्रिया सुरु हुने उनले स्पष्टपारे । प्रक्रिया पुरा गर्दा अहिले स्वामित्व हस्तान्तरण हुन ४ महिना लाग्न सक्ने उनले जानकारी दिए ।
विभिन्न बैंकसंग मर्जरका लागि छलफल भएपनि प्रक्रिया अघि नबढेको उनले बताए । हिमालयनले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
हिमालयनले गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षमा बैंकले ३ अर्ब खुदनाफा गर्ने लक्ष्य लिएको उनले सुनाए ।
‘हाम्रो वार्षिक १० प्रतिशत वृद्धि लक्ष्य हो त्यो यो वर्ष पनि पुरा हुने छ’ उनले भने । सीडीसीले बैंकलाई थप लगानी गर्न ऋण पनि दिने भएको राणाले जानकारी दिए ।
सेयर हस्तान्तरण नभएकाले यो वर्षको लाभांश हविवले लैजाने भएको छ । हिमालयनको चलअचल सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) को काम सकिएको छ । हबिवले सीडीसीसँग प्रतिकित्ता २.५२ अमेरिकी डलर अर्थात हालको प्रचलित मूल्यअनुसार २८० रुपैयाँमा खरिदबिक्रीको सहमति गरिसकेको छ । यो खरिद दर भने सार्वजनिक गरेको छैन ।
हबिव र सीडीसीबीच हिमालयनको २० प्रतिशत स्वामित्व खरिदबिक्रीमा सहमति भइसकेको छ । सहमतिअनुसार सीडीसीले हिमालयनमा रहेको हबिबको १ करोड ७० लाख ४० हजार ५११ कित्ता सेयर किन्ने सहमति गरेको छ । प्रतिकित्ता २८० रुपैयाँलाई मान्दा सीडीसीले लिने २० प्रतिशत स्वामित्वको मूल्य ४ अर्ब ७७ करोड १३ लाख ४३ हजार रुपैयाँ हुनेछ ।
वेलायतको सीडीसीले हबिवको संस्थापक स्वामित्व खरिद गरेर औपचारिक रुपमा नेपालको वित्तीय क्षेत्रमा प्रवेश गर्न लागेको हो ।
सीडीसीले कोरियन र नेपाली लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा ५ करोड डलर अर्थात ५ अर्ब रुपैयाँ ऋण लगानी गर्नका लागि सहमति जनाएको छ ।
यस्तै वल्र्ड लिंक कम्युनिकेसनमामा सीडीसीले १ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयनमा कर्मचारी सञ्चय कोष, राणा र खेतान ग्रुपको स्वामित्व छ ।
सीडीसीले एनएमबी बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ ऋण दिइसकेको छ । सीडीसी बेलायत सरकारको पूर्ण स्वामित्वको बैंक हो। सीडीसीले विभिन्न मुलुकलाई ऋण दिँदै आएको छ ।