काठमाडौँ चालु आर्थिक वर्षको चार महिनामा मुलुकको व्यापार घाटामा संकुचन आएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक तथ्यांक अनुसार चार महिनामा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई ४ खर्व १४ अर्ब २ करोड रुपैया कायम भएको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार मुलुकको आयात घटेका कारण व्यापार घाटामा कमी आएको हो । हरेक महिना चुलिदै आएको व्यापार घाटा पछिल्ला केही महिनाहरुमा घट्दै गएको छ । चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर ४ खर्व ५० अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार भारत तथा अन्य मुलुकबाट आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको देखिएको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ ।
एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय,तातोपानी भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ ।
आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाहेकका नाकाहरुमा आयात कमी भएको हो । राष्ट्र बैंकका अनुसार चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।