काठमाडौं । नविल बैंकले ३५ घण्टाभित्र कर्जा दिने भएको छ । बैंकले नविल सजिलो एक्सप्रेस कर्जा योजना ल्याएर यस्तो व्यवस्था गरेको हो । न्युनतम १५ लाखदेखि ७५ लाख रुपैयाँसम्म साना तथा मझौला कर्जा दिनका लागि यो योजना ल्याएको हो ।१ वर्षका लागि ब्याजदर १०.५ प्रतिशत कायम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले बताए ।
साना तथा मझौला एवम् घरेलु उद्यम गर्न चाहनेलाई बैंकले छोटो समयमा नै रु ७५ लाखसम्म ऋण दिने सुविधा ल्याएको आज यहाँ आयोजित कार्यक्रममा शाहले जानकारी दिए।
उद्यम गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन असाध्यै झन्झटिलो प्रावधान रहेको छ । त्यसमाथि पहुँच नहुनेका लागि त बैंकबाट ऋण लिने कुरा ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै रहेको छ ।
सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अगाडि सारेको छ । सो अवधारणाले समेत रोजगारीको खोजी तथा उद्यमशीलतालाई बढावा दिने लक्ष्य राखेको छ ।
सोही अवधारणालाई कार्यान्वयन गराउन र उद्यम गर्न चाहनेलाई सहज रुपमा कर्जा उपलब्ध गराउने योजनाअनुसार नै बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ ।
उनले भने “एउटा व्यवसायीका लागि हरेक सेकेण्ड अमूल्य रहेको छ । त्यसैले हामीले क्रेडिट स्कोरिङ ढाँचामा कागजात पुगेको ३५ घण्टाभित्रै कर्जा लिने योजना सार्वजनिक गरेका छौँ ।” यो योजनाले साना, लघु तथा घरेलु उद्यम गर्न चाहने साना लगानीकर्तालाई विशेष गरी फाइदा पुग्ने बैंकको विश्वास छ ।
बैंकले साना, मझौला तथा घरेलु उद्यम विस्तारका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, साना लगानीकर्ताको अनुभवलाई समेत आत्मसात् गरेको जनाइएको छ ।
नेपालमा साना, मझौला तथा घरेलु उद्योगबाट करिब २५ लाखले रोजगारी पाइरहेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता भएकामा दुई लाख ६४ हजार नवीकरणमा छन् ।
कति उद्योग चलेका छन् भन्नेमा यकिन विवरण नभए पनि अनुमानित दुई लाख उद्योग सञ्चालनमा रहेको महासङ्घको भनाइ छ । हाल सञ्चालनमा रहेका उद्योगमा कूल रु ३५ अर्ब ३० करोडको हाराहारीमा लगानी रहेको छ ।
बैंकको कर्जा योजनाले नयाँ उद्यम गर्न चाहनेलाई थप सहयोग पु्र्याउने र उद्योगको सङ्ख्यामा गुणस्तरीय परिवर्तन आउने विश्वास लिएको बैंकका साना तथा मझौला उद्यम शाखाका प्रमुख मोहनराज जोशीले जानकारी दिए ।
नबिलले सक्षम, यूके एडको सहयोगमा उक्त कार्यक्रम शुरु गरेको त्यस अवसरमा जानकारी दिइयो । सक्षम परियोजनाका टिम लिडर निर्मल दाहालले विकासोन्मुख देशको आर्थिक विकासका लागि साना, घरेलु तथा मझौला उद्यम नै बलियो आधार भएको तथ्यका आधारमा आफूहरु नबिल बैंकसँग सहकार्य गर्न आइपुगेको बताए ।