काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले कर तिर्न बैंकबाट निक्षेप फिर्ता मागेपछि अन्तर बैंक कारोबार बढेर ब्याजदर पनि वृद्धि भएको छ ।
एनसेलले नविल बैंक, नेपाल एसबीआई बैंक र स्ट्याण्डर्ड चाटर्डबाट गरी २२ अर्ब रुपैयाँ कर तिर्न मागेको छ । एनसेललाई दिनका लागि बैंकमा अन्तर बैंक कारोबार बढेको हो ।
नेपाल राष्ट्र बैंकले ब्याजदरलाई व्यवस्थित गर्न करिडोर लागु गरेको छ । जसमा ३ देखि साढे ४ प्रतिशतसम्म रहनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको आर्थिक तथ्यांकअनुसार वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर गत वर्षको कार्तिक महिनामा १.६८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको कात्तिकमा २.५९ प्रतिशत कायम भएको छ ।
यस हिसावले हेर्दा गत वर्षको कार्तिकको तुलनामा यस वर्षको कार्तिकसम्म ०.९१ प्रतिशत विन्दुले अन्तर बैंक ब्याजदर बढेको देखिन्छ । ब्याजदर करिडोर लागु भएपछि अन्तर बैंक कारोबार बढी सक्रिए भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए ।
‘यस वर्षको कार्तिकसम्म अन्तर बैंक कारोबारको रकम रकम पनि बढेको छ,त्यस्तो रकम बढ्ने बित्तीकै कर्जाको माग बढी छ भन्ने देखाउँछ ।’ कार्यकारी निर्देशक भट्टले भने । ब्याजदर बजारको माग र आपूर्तिमा भर पर्छ । बैंकमा फण्डको आवश्यकता भएसँगै अन्तर बैंक कारोबारको ब्याजदर बढेको बताउँछन् कार्यकारी निर्देशक भट्ट ।
बजारमा पैसाको अभाव भएसँगै राष्ट्र बैंकले पुस ३ गते ८ अर्ब रुपैयाँको रिपो गरेको छ । त्यसैले अन्तर बैंक कारोबार बढेको देखिएको छ । बैंकका ठुला निक्षेपकर्ताले एकै पटक ठुलो रकम निक्षेप निकाल्दा पनि अन्तर बैंक कारोबारमा त्यसको प्रत्यक्ष असर परेको देखिन्छ ।
नविल बैंक, नेपाल एसविआई बैंक र स्टान्डर्ड चार्डर बैंकमा एनसेलको २२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । एनसेलको नबिल बैंकमा मात्रै १५ अर्ब रुपैयाँ फिर्ता मागेको छ । नेपाल एसबीआइ र स्टान्र्डर्ड चार्टर्ड बैंकमा ७ अर्व रुपैयाँ निक्षेप फिर्ता मागेको छ ।
एनसेलले नबिल बैंकमा भएको पैसा निकाल्दैछ । यतिका ठुलो रकम निकालेपछि नबिल बैंकलाई फण्डको अभाव हुने देखिन्छ । जसका कारण नबिलले अर्काे बैंकबाट पैसा सापटीमा लिनुपर्ने अवस्था हुन्छ ।
त्यसले अन्तर बैंक ब्याजदरलाई बढाउँछ । पछिल्लो समय तीन दिनको अन्तरालमा २.५ प्रतिशत विन्दुले अन्तर बैंक ब्याजदर बढेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बताए ।