काठमाडौं । चालु आर्थिक वर्षमा कुमारी बैंकले गत वर्षको भन्दा नाफा ४२ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले चालु आर्थिक वर्षमा १ अर्ब ७५ करोड रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा कुमारीले १ अर्ब २३ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
बैंकले लगानीयोग्य पुँजी जुटाउन निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको केबीएल डिवेञ्चरका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो प्रक्षेपण गरिएको हो ।
बैंकले आगामी आर्थिक वर्ष ०७७/०७८ मा नाफा ३७.१७ प्रतिशत बढाएर २ अर्ब ४० करोड पुग्ने प्रक्षेपण गरेको छ । यस्तै ०७८/०७८ मा ३०.२९ प्रतिशत अर्थात ३ अर्ब १२ करोड ९० लाख रुपैयाँ खुदनाफा बैंकको अनुमान छ ।
यो नाफा गर्न चालु आर्थिक वर्षमा ४ अर्ब ३ करोड, आगामी वर्ष ५ अर्ब ५० करोड र ३ वर्षमा ६ अर्ब ४२ करोड रुपैयाँ खुदब्याज आम्दानी गर्ने वित्तीय विवरणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८ रुपैयाँ ३२ पैसा, आगामी वर्ष २५ रुपैयाँ १४ पैसा र तेस्रो वर्ष ३२ रुपैयाँ ७५ पैसा पुग्ने प्रक्षेपण वित्तीय विवरणमा गरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ यो वर्ष १४०, आगामी वर्ष १६४ र ३ वर्षमा १९६ रुपैयाँ पुग्ने अनुमान बैंकको छ ।
प्रक्षेपित वित्तीय विवरण दीर्घकालिन रणनीति अनुरुप तयार पारेको बैंकले जनाएको छ ।
बैंकले देशको आर्थिक, बंैक तथा वित्तीय संस्थाहरुको अवस्था, विभिन्न नियमनकारी निकायहरुको नीति तथा व्यवस्थाहरुको सुक्ष्म रुपमा अध्ययन गरेर वित्तीय विवरण प्रक्षेपण गरेको जानकारी दिएको छ ।
सो रणनीति बमोजिम बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने, व्यक्तिगत र साना तथा मझौला कर्जा, वचत तथा निक्षेपमा वृद्धि गर्ने, ग्राहक केन्द्रीत नयाँ योजनाहरु ल्याउने, आफ्नो आन्तरिक नियन्त्रण कार्यप्रणालीलाई थप चुस्त बनाउने, कर्मचारीहरुको क्षमता अभिवृद्धिमा विकास गरी ग्राहकहरुको पहिलो रोजाइ बनाउने लक्ष्य छ । बैंकले आफ्नो प्रक्षेपित व्यवसायमा वृद्धि खुदनाफा तथा पूँजीमा उच्च प्रतिफल दिन सक्षम रहने दावी गरेको छ ।
पुस १४ देखि ३ अर्बको ऋणपत्र आउँदै
बैंकले लगानीयोग्य पुँजी जुटाउन आउँदो पुस १४ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न भएको छ । १० वर्ष अवधि रहेको ऋणपत्रले वार्षिक १०.२५ प्रतिशत ब्याजदर तोकिएको छ । ऋणपत्र निष्काशन बन्द छिटोमा पुस १७ र ढिलोमा माघ १४ तोकिएको छ ।
संकलन हुने रकमको ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गर्ने छ । बाँकी ६० करोड रुपैयाँ शाखा विस्तारमा लगानी गर्ने बैंकले जनाएको छ ।