काठमाडौं। चन्द्रगिरिका युवाहरुको सन्जाल चन्द्रागिरि हाइकर्स कमिटी (सीएचसी) ले चन्द्रागिरि नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको पर्यटकीय प्रवर्द्धनका लागि ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ।
पालिकाभित्र रहेका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न वैशाख २२ मा नगरपालिका सबै वडामा रहेका सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका सम्पदा अवलोकन गर्ने गरी सम्पदा पदयात्रा आयोजना गर्न लागिएको सीएचसीले जनाएको छ।
सम्पदा पदयात्रामा नगरभित्रका पर्यटकीय सम्पदाको वास्तविक अवस्थाको अवलोकन र स्वास्थ्यका लागि हिँडाइको महत्त्व बुझाउन नगरपालिकाको सहकार्यमा सम्पदा पदयात्रा कार्यक्रम राखिएको सीएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए।
‘आफ्नो गाउँठाउँमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान दिनु नगरबासीको कर्तव्य हो। सम्पदा संरक्षणमा युवाहरुको भूमिका बुझाउन र स्वास्थ्यका लागि हिँडाइ आवश्यक छ भन्ने सन्देश दिन सम्पदा पदयात्रा गर्न लागेका हौं’, अध्यक्ष गोपालीले भने। सम्पदा पदयात्रा आगामी वैशाख २२ गते बिहान ६ बजे नगरपालिका कार्यालयबाट सुरु हुनेछ। पदयात्राका लागि रुटसमेत निर्धारण गरिएको छ।
नगरपालिकाबाट सुरु भएको पदयात्रा बलम्बु त्रिवेणी घाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, मातातीर्थ मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै नैकापको खेल मैदानमा आएर समापन हुने अध्यक्ष गोपालीको भनाइ छ।२२ किलोमिटर दूरी रहेको सम्पदा पदयात्रामा २२ सय बढी पैदलयात्री सहभागी हुने आयोजकले जनाएका छन्।