काठमाडौं। पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधन एसेम्बल गर्ने कम्पनीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। अटो कम्पनीहरू सवारीसाधन आयातमा मात्र सीमित नभई उत्पादनतर्फ पनि अघि बढ्दै गएका हुन्।
केही वर्षअघिसम्म नेपाल पूर्ण रूपमा तयारी दुई पांग्रे सवारीसाधनको आयातमा निर्भर थियो। तर पछिल्लो समय सरकारको नीतिगत सहुलियत र निजी क्षेत्रको सक्रियताका कारण नेपालमै 'एसेम्बल' गर्ने कम्पनीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। सरकारले स्वदेशमै एसेम्बल गर्ने उद्योगहरूलाई छुट सुविधा दिन थालेसँगै उद्योगीहरू यसतर्फ आकर्षित हुन थालेका हुन्।
तुलनात्मक रूपमा प्रतिस्पर्धी मूल्यमा उपभोक्तालाई सहज रूपमा सवारीसाधन उपलब्ध हुने भएकाले अहिले नेपालमा एसेम्बल उद्योग बढ्दै गएको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा बताउँछन्।
'अहिले २०० सिसीभन्दा माथिका सवारीसाधन नेपालमै एसेम्बल गर्दा सस्तो पर्ने भएकाले हामीले यसो गरेका हौं, हाम्रो ९५ प्रतिशत उत्पादन नेपालमै एसेम्बल हुन्छ,' निर्देशक गोल्छाले भने, 'दुई पांग्रे सवारीसाधनमा सबैभन्दा पहिले एसेम्बल प्लान्ट हामीले नै सुरु गरेका हौं।' नेपालमै उत्पादन गर्दा लागत कम लाग्ने उनको भनाइ छ।
उनका अनुसार सन् २०१५ बाट नेपालमा बजाजका बाइक उत्पादन गर्न सुरु गरेको कम्पनीले अहिले ९५ प्रतिशत बाइक नेपालमै उत्पादन गर्ने गरेको छ। हाल कम्पनीले २ सय जनालाई रोजगारी दिएको छ।
व्यवसायीहरूका अनुसार नेपालमा एसेम्बल हुने दुई पांग्रे सवारीसाधनका आवश्यक पार्टपुर्जा विदेशबाट आयात गरिन्छ र त्यसपछि स्वदेशमै एसेम्बल गरिन्छ।
हाल नेपालमा आधा दर्जनभन्दा बढी ब्रान्डका दुई पांग्रे सवारीसाधन उत्पादन हुने गरेका छन्। अहिले रोयल इन्फिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होन्डा, सीएफमोटो लगायतका ब्रान्डका मोटरसाइकल र स्कुटर नेपालमै एसेम्बल हुन्छन्। व्यवसायीहरूका अनुसार नेपालमा एसेम्बल हुने दुई पांग्रे सवारीसाधनका आवश्यक पार्टपुर्जा विदेशबाट आयात गरिन्छ र त्यसपछि स्वदेशमै एसेम्बल गरिन्छ।
नेपालमा एसेम्बल प्लान्टको लहर बढ्दा धेरै रोजगारी सिर्जना भएको रोयल इन्फिल्डका नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका मेघराज पौडेल बताउँछन्।
'एसेम्बल प्लान्ट सञ्चालन हुँदा प्राविधिक, इन्जिनियर, मेकानिक, व्यवस्थापन लगायतका क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी बढ्छ,' उनले भने, 'विगत तीन वर्षदेखि हामीले नेपालमा एसेम्बल प्लान्ट सञ्चालन गरिरहेका छौं। समग्रमा हेर्दा राम्रो भइरहेको छ।'
व्यवसायीहरूका अनुसार, तयारी बाइक आयात गरेर बिक्री गर्नुभन्दा नेपालमै उत्पादन गरेर बिक्री गर्दा तुलनात्मक रूपमा लागत कम लाग्छ। यसैले बजारमा तयारी सवारीसाधनको आयात खुम्चिँदै जाँदा अनएसेम्बल पार्ट्सको आयातको हिस्सा ह्वात्तै बढेको हो।
नेपाली बजारमा सबैभन्दा पहिले एसेम्बल गर्न बजाजले सुरु गरेको थियो। नेपालका लागि बजाजको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले २०७५ सालमा एसेम्बल गर्न थालेको हो। कम्पनीले नवलपरासीको रामग्रामस्थित प्लान्टमा बजाज ब्रान्डका सवारीसाधन एसेम्बलिङ गरिरहेको छ। कम्पनीका अनुसार हाल नेपाली बजारमा बिक्री भइरहेका बजाजका विभिन्न मोडलका अधिकांश मोटरसाइकल नेपालमै एसेम्बल गरिएका हुन्।
नेपालमा बजाजले एसेम्बल प्लान्टको सुरुवात गरेपछि अहिले धेरै दुई पांग्रे कम्पनीले एसेम्बल गरिरहेका छन्।
नेपाली उपभोक्ताहरूमाझ अत्यधिक लोकप्रिय रहेको पल्सर मोटरसाइकल पनि अहिले स्वदेशमै एसेम्बल हुँदै आएको कम्पनीको दाबी छ। पल्सरसँगै बजाजका डोमिनार, एभेन्जर, डिस्कभर र प्लाटिना लगायतका विभिन्न मोडल पनि यही प्लान्टबाट एसेम्बल गरी बजारमा पठाइन्छन्। त्यस्तै, प्रिमियम सेग्मेन्टको केटीएम ड्युक मोटरसाइकलको एसेम्बलिङसमेत नेपालमै सुरु भइसकेको छ।
नेपालमा बजाजले एसेम्बल प्लान्टको सुरुवात गरेपछि अहिले धेरै दुई पांग्रे कम्पनीले एसेम्बल गरिरहेका छन्। त्यस्तै, शंकर समूहअन्तर्गत जगदम्बा मोटर्सले बाराको सिमराबाट टीभीएस ब्रान्डका मोटरसाइकल र स्कुटर एसेम्बल गर्दै आएको छ। नेपालमा बजाज र टीभीएसले उत्पादन थालेपछि एमएडब्लु ग्रुपले यामाहा, सीजी मोटर्सले हिरो, स्याकार ट्रेडिङले होन्डा, विशाल ग्रुपले सुजुकी लगायतका ब्रान्ड नेपालमै एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएका छन्।
हाल विशाल ग्रुपअन्तर्गत भिजी अटोमोबाइल्सले पर्साको विन्ध्यवासिनीमा सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिरहेको छ। कम्पनीले वि.सं. २०७८ मा ग्लोबल अटोमोबाइल्स उद्योग दर्ता गरी उत्पादन सुरु गरेको थियो। त्यसैगरी नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लुले नवलपरासीको रामग्राममा सञ्चालित एसेम्बली प्लान्टबाट स्वदेशमै बाइक उत्पादन गर्दै आएको छ।
नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटोकर्पले हिरो ब्रान्डको बाइक तथा स्कुटर नेपालमै एसेम्बल गर्दै आएको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले हिरोसँगको सहकार्यमा नवलपरासीमा रहेको सीजी इन्डस्ट्रियल पार्कमा हिरोका बाइक तथा स्कुटर एसेम्बल गर्न उत्पादन प्लान्ट स्थापना गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार बजारको अवस्था हेर्दा नेपाल भित्रिने कुल दुई पांग्रे सवारी साधनमध्ये ठूलो हिस्सा अनएसेम्बल रूपमा आउन थालेको छ।
त्यस्तै, होन्डा बाइकको आधिकारिक वितरक स्याकार ट्रेडिङअन्तर्गत हिमाल मोटो प्रालिले रुपन्देहीको रोहिणीमा होन्डा ब्रान्डका मोटरसाइकल एसेम्बल गर्दै आएको छ। यस उद्योगमा २०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने, अल्फा अटोमोटिभ प्रालिले विगत तीन वर्षदेखि वीरगन्जमा रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकल एसेम्बल गर्दै आएको छ। एसेम्बल उद्योगको विस्तारसँगै अनएसेम्बलको आयात पनि बढ्दै
भन्सार विभागको तथ्यांकअनुसार बजारको अवस्था हेर्दा नेपाल भित्रिने कुल दुई पांग्रे सवारी साधनमध्ये ठूलो हिस्सा अनएसेम्बल रूपमा आउन थालेको छ। चालू आर्थिक वर्षको ११ महिनामा २ लाख ६ हजार ३४७ युनिट अनएसेम्बल दुई पांग्रे सवारी आयात हुँदा ४३ हजार ९३४ युनिट मात्र तयारी अवस्थाका मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।
पछिल्लो ६ वर्षमा आयात भएका एसेम्बल र अनएसेम्बल संख्या
|
आर्थिक वर्ष
|
अनएसेम्बल
|
एसेम्बल
|
जम्मा
|
|
२०७७/७८
|
३११
|
३,५३,२२०
|
३,५३,५३१
|
|
२०७८/७९
|
९६,८८२
|
१,८१,५९९
|
२,७८,४८१
|
|
२०७९/८०
|
४१,८९१
|
६२,२८९
|
१,०४,१८०
|
|
२०८०/८१
|
८१,०४९
|
५३,४८५
|
१,३४,५३४
|
|
२०८१/८२
|
१,४६,०२२
|
५५,९३०
|
२,०१,९५२
|
|
२०८२/८३ (हालसम्म)
|
२,०६,३४७
|
४३,९३४
|
२,२७,९४१
|
पछिल्लो ६ आर्थिक वर्षको तथ्यांकअनुसार तयारी अवस्थाका सवारीसाधनको तुलनामा अनएसेम्बल सवारीसाधनको आयात तीव्र रूपमा बढ्दै गएको छ। नेपालमा २०७५ सालदेखि दुई पांग्रे सवारीसाधनको एसेम्बल हुन थालेपनि त्यतिबेला अनएसेम्बलको हिस्सा थोरै नै थियो।
आर्थिक वर्ष २०७७/७८ मा अनएसेम्बलका लागि जम्मा ३११ युनिट मात्र आयात हुँदा तयारी अवस्थाका ३ लाख ५३ हजार २२० युनिट आयात भएको थियो। त्यसबेला कुल आयातमध्ये एसेम्बलका लागि आउने सामग्रीको हिस्सा थोरै थियो।
तर त्यसपछिका वर्षहरूमा अनएसेम्बलको हिस्सा क्रमशः बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ मा तयारी अवस्थाका १ लाख ८१ हजार ५९९ युनिट बाइक तथा स्कुटर आयात हुँदा अनएसेम्बल ९६ हजार ८८२ युनिट आयात भएको तथ्यांकले देखाउँछ।
तथ्यांकअनुसार नेपाली बजारमा भित्रिने कुल दुई पांग्रे सवारीसाधनमध्ये ठूलो हिस्सा अनएसेम्बल रूपमा आउन थालेको छ।
आर्थिक वर्ष २०७९/८० मा ४१ हजार ८९१ युनिट अनएसेम्बल आयात हुँदा तयारी अवस्थाका ६२ हजार २८९ युनिट आयात भएको थियो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ बाट भने अनएसेम्बल आयातको हिस्साले तयारी सवारीसाधनलाई उछिन्न थालेको देखिन्छ। उक्त वर्ष अनएसेम्बल ८१ हजार ४९ युनिट आयात हुँदा तयारी सवारीसाधन ५३ हजार ४८५ युनिट मात्र आयात भएको थियो।
यो प्रवृत्ति आर्थिक वर्ष २०८१/८२ मा अझ बढी देखिन्छ। उक्त वर्ष १ लाख ४६ हजार २२ युनिट अनएसेम्बल आयात हुँदा तयारी अवस्थाका ५५ हजार ९३० युनिट मात्र आयात भयो।
चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको तथ्यांकले पनि यही प्रवृत्ति निरन्तर रहेको देखाउँछ। हालसम्म अनएसेम्बलका लागि २ लाख ६ हजार ३४७ युनिट आयात भएको छ भने तयारी बाइक तथा स्कुटर ४३ हजार ९३४ युनिट मात्र आयात भएको छ। कुल २ लाख २७ हजार ९४१ युनिट आयातमध्ये अनएसेम्बलको हिस्सा ८२.४४ प्रतिशत रहेको छ।
तथ्यांकअनुसार नेपाली बजारमा भित्रिने कुल दुई पांग्रे सवारीसाधनमध्ये ठूलो हिस्सा अनएसेम्बल रूपमा आउन थालेको छ। नेपालका प्रमुख अटोमोबाइल ब्रान्ड बजाज, टीभीएस, यामाहा, हिरो, होन्डा र रोयल इन्फिल्ड लगायतले नेपालमै आफ्ना एसेम्बल प्लान्ट सञ्चालनमा ल्याइसकेका छन् भने अन्य नयाँ ब्रान्डले पनि नेपालमा एसेम्बल प्लान्ट सञ्चालन गर्ने योजना बनाइरहेका छन्।