बागलुङ । दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा परिवर्तन गरिरहेको बागलुङमा बिहीबार देशका ठूला व्यवसायीले यहाँको संभावना र लगानीका विषयमा बहस गरे ।
बागलुङ महोत्सवको छेको पारेर बागलुङ उद्योग बाणिज्य संघले प्रभु बैङ्कको साझेदारीमा आयोजना गरेको ‘बागलुङ इन्भेष्टमेन्ट टक’ मा देशका एक दर्जन ठूला व्यवसायीसहित स्थानिय २०० बढि व्यवसायीको उपस्थिती थियो ।
जिल्लामा नै पहिलो पटक बागलुङको संभावना र लगानीका विषयमा ‘समृद्ध बागलुङ, उज्यालो बागलुङ’ विषयमा बहसमूलक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका निर्देशक शेखर गोल्छा, महासंघका उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भाटभटेनी गु्रपका अध्यक्ष मीनबहादुर गुरुङले बागलुङको संभावना कृषि, पर्यटन, जलविद्युतमा रहेकाले लगानीको प्रतिफल र लगानीको वातावरण भए व्यवसायीहरु जहाँ पनि लगानी गर्न सक्ने बताए ।
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जिल्लाका विषयमा जानकारी गराउँदै कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष गोल्छाले बागलुङ रमणीय र सुन्दर रहेको बताए । ‘यहाँ जलविद्युत, पर्यटन र कृषिको संभावना छ, लगानीको प्रतिफल र वातावरण मिल्यो भने व्यवसायीले यहाँ लगानी गर्छन्,’ उनले भने ।
व्यवसायीले रहरले लगानी गर्ने होइन, लगानीको प्रतिफल आउने निश्चित भएपछि र त्यसका लागि वातावरण मिल्यो भने मात्र लगानी हुने उनले बताए । पछिल्लो पटक मुलुकमै व्यावसायिक वातावरण बिग्रदै गएको भन्दै चिन्तासमेत गरे । ‘सरकारले एकैपटक धेरै नियम ल्याएर व्यवसायीलाई कस्दै लगेकाले अहिले समस्या उत्पन्न भएको छ,’ उनले भने ।
व्यवसायीलाई लगानी गर्न समस्या छैन तर लगानीको वातावरण बिग्रदै गएको उनले बताए । ‘नेपालमै उत्पादन हुने बस्तुमै परनिर्भरता छ, यसका लागि उचित कानुन र प्रविधि नल्याएसम्म लगानीको वातावरण हुँदैन,’ उनले भने । बागलुङको अग्र्यानिक उत्पादन र यसको ब्राण्डिङका लागि तयार रहेको उनले बताए ।
गृह जिल्लामा बोल्दै आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा पर्यटनसम्बन्धी लगानीका लागि आफुहरुले काम गरिरहेको बताए । ‘हामीले बागलुङमा पर्यटनसम्बन्धी कुनै एउटा क्षेत्रमा लगानी गर्छाैं त्यसका लागि हामी पहिलादेखिनै अध्ययन गरिरहेका छौं,’ उनले भने ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बागलुुङमा जग्गा उपलब्ध गराउन सहयोग गरे यहाँ १० महिनामा भाटभटेनी खुल्ने बताए । ‘जग्गा व्यवस्थापन र कानुनी प्रक्रियामा समस्या भएन भने हामी बागलुङमा १० महिनामा भाटभटेनी खोल्न तयार रहेका छौं,’ उनले भने ।
‘प्रतिफलको ग्यारेन्टी भएमात्र लगानी आउँछ त्यसका लागि वातावरण हुनुपर्छ,’ उनले भने । ‘राज्यले लगानीका लागि वातावरण बनाउने हो, व्यवसायीले जहाँ पनि लगानी गर्छन,’ राज्यको तर्फबाट सेवा र सुविधा एकद्धार प्रणालीमा उपलब्ध हुनुपर्नेमा ढकालले जोड दिए ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बागलुुङमा जग्गा उपलब्ध गराउन सहयोग गरे यहाँ १० महिनामा भाटभटेनी खुल्ने बताए । ‘जग्गा व्यवस्थापन र कानुनी प्रक्रियामा समस्या भएन भने हामी बागलुङमा १० महिनामा भाटभटेनी खोल्न तयार रहेका छौं,’ उनले भने ।
लगानीका लागि ठूलै पूँजी मात्र आवश्यक नपर्ने उनले बताए । आफुले ३५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेको बताउँदै पहिला व्यवसाय गर्ने योजना हुनुपर्ने बताए ।
‘निजी क्षेत्रले व्यवसाय गर्ने हो, सरकारले त सहयोग गरेर लगानीको वातावरण तयार गरिदिने हो,’ उनले भने । लगानीका लागि जोखिम पनि मोल्नुपर्छ, नेपालमा लगानी गर्नु व्यवसाय गर्नु फलामको च्युरा चपाउनु सरह रहेको उनले बताए ।
वक्ताहरु उठाएको सवालहरुमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीका लागि राजनीतिक स्थिरता, शान्तिपूर्ण वातावरण र लगानीको सुरक्षा हुनुपर्नेमा जोड दिए । ‘सरकारले लगानीको सुरक्षा र वातावरण बनाउँदै लगेको छ,’ उनले भने । लगानीको वातावरण रातारात तयार नहुने भन्दै त्यसका लागि सरकारले काम गरिरहेको उनले बताए ।
बागलुङको संभावना अनेक क्षेत्रमा देखिएको छ, व्यवसायीहरु यहाँ आएर लगानी गर्दा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।
‘भाटभटेनीले आफ्नो स्टोर्स खोल्नका लागि जग्गा खोजिरहेको हो भने जग्गा उपलब्ध गराउन हामी सहयोग गर्छाैं, यहाँ एउटा भाटभटेनी आवश्यक छ,’ उनले भने । लगानीको प्रतिफल तत्काल खोज्न नहुने भन्दै गुरुङले एक वर्षमा प्रतिफल खोज्ने हो भने धान रोप्नुपर्छ, अरु लगानी गरेर प्रतिफल खोज्न धैर्य गर्नुपर्ने बताए ।
कार्यक्रम मुरारका अर्गनाइजेशका प्रमुख तथा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जीव कोइराला, केन्द्रिय सदस्य राजन श्रेष्ठ, दिलसुन्दर श्रेष्ठ, राजकुमार न्यौपाने, चन्द्रकान्त अधिकारी, किशोर आचार्य, डिबी बस्नेत, कमल श्रेष्ठ, भरत आचार्य, सुदर्शन कार्की, गुणनीति तिवारीलगायतका व्यवसायीहरुको उपस्थिती थियो ।