काठमाडौँ । नेपाल धितोपत्र बोर्डको भावी अध्यक्ष पदका लागि तीन जना छनौट भएका छन् । छनोट हुनेमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगाना, बोर्डकै कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी र केशवलाल श्रेष्ठ छानिएका हुन् । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल नेतृत्वको समितिले तीन जानको नाम छनौट गरेको हो । प्रतिस्पर्धाबाट डा.नवराज अधिकारी र सीताराम थपलिया बाहिरिएका छन् ।
छनौट भएका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई बोर्डको अध्यक्षको रुपमा छनोट गर्नेछ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगाना सबैभन्दा शक्तिशाली प्रतिस्पधीको रुपमा लिइन्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ढुङ्गानालाई आगामी अध्यक्ष बनाउने गरी बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्त गरेका थिए ।
सरकारले उक्त तीन जना प्रत्यासित मध्येबाट सरकारले एक जना धितोपत्र बोर्डको भावी अध्यक्ष चयन गर्नेछ । सिताराम थपलिया र नवराज अधिकारी अध्यक्ष पदको दाबेदारबाट बाहिर भएका हुन्।
आवेदन दिएका मध्येबाट व्यक्तिगत विवरण, कार्यानुभवको आधारमा मूल्याङ्कन र कार्यपत्र प्रस्तुतीको आधारमा तीन जना अगाडि बढेको संयोजक रामकुमार फुँयालले जानकारी दिए।
सोमबारको अन्तरवार्ता मार्फत छनोट भएका भीष्मराज ढुंगाना र निरज गिरी बोर्डका कर्मचारी हुन्। भीष्मराज ढुंगाना बोर्ड सञ्चालक समितिका सदस्य हुन् भने निरज गिरी बोर्डका कार्यकारी निर्देशक हुन्।
ढुंगानालाई बोर्डको विज्ञ सदस्यका रुपमा केही महिनाअघि मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले मनोनयन गरेका थिए। ढुंगाना नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही समयअघि मात्रै अवकाश पाएका थिए। साथै उनी बोर्डको अध्यक्ष पदका लागि बलियो दाबेदार मानिएको छ।
असोज महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको छ। अध्यक्ष पदका लागि अर्थ मन्त्रालयले मंसिर ६ गते सार्वजनिक सूचना निष्काशन गरेको थियो। उक्त पदको लागि ८ जनाको आवेदन परेको थियो। अर्थमन्त्रालयले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।