सरकारले नेपाल राष्ट्र बैंकको निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । मन्त्रीपरिषदमार्फत नै श्रेष्ठलाई स्पष्टीकरण सोधिएको हो । आरोपी श्रेष्ठले आइतबार साँझ स्पस्टीकरण मागेको पत्र बुझेको बताइएको छ । उनलाई विहीबारसम्म जवाफ दिन भनिएको छ । मन्त्रीपरिषदले श्रेष्ठलाई राष्ट्र बैंक सञ्चालक समितिले लगाएको आरोपको विषयमा जवाफ मागेको हो ।
राष्ट्र बैंकको बोर्ड बैठकले २ महिनाअघि उनीमाथी अनियमिताको आरोप लगाएर सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोधकुमार कर्ण रहेको तीन सदस्यीय छानबिन समिति बनाएको थियो । राष्ट्र बैंकले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा छन् ।
छानबिन समितिले श्रेष्ठ दोषी करार गर्दै सञ्चालक समितिमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा राष्ट्र बैंकले श्रेष्ठलाई कारवाही गर्न सक्ने भन्दै सरकारलाई छानबिन प्रतिवेदन हस्तान्तरण गरेको थियो । प्रतिवेदन अध्ययन गर्दै सरकारले श्रेष्ठलाई सफाईको मौका दिएको हो ।
आरोपित व्यक्ति श्रेष्ठको जवाफ हेरेर सरकारले उनलाई हटाउन सक्ने छ । यद्यपी धेरैले श्रेष्ठलाई सरकारले हटाउनकै लागि मन्त्रीपरिषदले नै निर्णय गरेर अध्ययन गर्न आदेश दिएको बताउँदै आएका छन् । अर्थ मन्त्रालय स्रोतकाअनुसार मन्त्रीपरिषदले सोधेको स्पस्टिकरणमा कमजोर तथ्यहरुलाई समाइएको छ, जुन अभियोगहरु पुस्टि हुन गाह्रो छ ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार श्रेष्ठले पत्र बुझिसकेको जानकारी दिए । मन्त्रीपरिषदको निर्णय अनुसार प्रधानमन्त्री कार्यालयका सचिवले श्रेष्ठलाई पत्र पठाएका हुन् ।
मन्त्रीपरिषदले असोज ३० गते श्रेष्ठमाथी छानविन गर्नका लागि निर्णय गरेको थियो । मन्त्रीपरिषदको निर्णयअनुसार अर्थले कात्तिक ७ गते राष्ट्र बैंक बोर्डलाई पत्र पठाएर छानविन गर्नका लागि निर्देशन दिएको थियो ।
सवोच्च अदालतको आदेश आएलगत्तै हतारमा एनसेलको लाभांस भुक्तानी खोलेको, नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा एपेक्स डेभलपमेन्ट बैंक गाभिँदा एपेक्सको गडबडी लुकाउन सहयोग गरेको, ग्रान्ड बैंक नेपालको फाइल लुकाएको, विदेश भ्रमणमा जाँदा बढी सुविधा लिएको, सम्पत्ति सुद्धिकरणमा राष्ट्र बैंकको विभागीय प्रमुखको हेसियतले सहयोग नगरेकोजस्ता आरोप श्रेष्ठमाथी छ । यद्यपी श्रेष्ठले भने आफू निर्दोष रहेको र गभर्नर हुनबाट बच्न प्रपञ्च रचिएको बताउँदै आएका छन् ।
याे पनि पढ्नुहाेस्
डेपुटी गभर्नर शिवराज श्रेष्ठ एक्लै कसरी दोषी हुन सक्छन ?