काठमाडौं । बजेट कार्यान्वयनको अवस्था परम्परागत हुँखा पूँजीगत खर्च हुन नसकेको अर्थविद्हरुले बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा अर्थविद्हरुले पुरानै योजना र नीतिका कारण पूँजीगत खर्च हुन नसकेको बताएका हुन् ।
बैठकमा अर्थविद् डा. गोविन्द नेपालले बजेट कार्यान्वयन परम्परागत ढंगले हुने तर, नीति तथा कार्याक्रम भने नयाँ हुँदा खर्च हुन नसकेको बताए । ‘प्रोजेक्ट बैंक’ बनाएर त्यसमा प्राप्त योजनाहरु कार्यान्वयनमा जोड दिन सकेमा पूँजीगत खर्च हुने उनको भनाई छ ।
अनलाइन तथ्यांकहरु एक महिना पहिले नै उपलव्ध गराउन व्यवस्था भएमा पनि भइरहेको पूजीगत र वित्तिय अवस्थाबारे बुझ्न सकिने उनले बताए । त्यस्तै, अर्थविज्ञ डा. केशव खड्काले परम्परागत खालको खर्च गराइ प्रवृत्तीले अर्थतन्त्र सुध्रन नसक्ने बताए । उनले अर्थतन्त्रलाई नयाँ स्वरुपमा अघि बढाउन पनि पूजीगत खर्च वृद्धि हुनुपर्ने बताए ।
रेमिट्यान्समा आधारीत अर्थतन्त्र भएको मुलुकमा रेमिट्यान्सबाट आएको पैसा कहाँ खर्च भइरहेको छ त्यो बुझ्न जरुरी रहेको उनले बताए । १ खर्ब रुपैयाँ आइटी क्षेत्रबाट राजश्व चुहावट भइरहेको बताउँदै खड्काले कतिपय बिषयहरु राज्यको नजरबाट छुटेको बताए । अर्का अर्थविद् डा. कृष्णराज पन्तले योजना निर्माण आवश्यकता भन्दा पहुँचका आधारमा गर्दा पूँजीगत खर्च हुन नसकेको बताए ।
स्थानीय र प्रदेश तहमा जनशक्ति, कर्मचारी, कार्यालय व्यवस्थापन र उपयुक्त योजना छनौट नहुँदा बजेट खर्च हुन नसकेको उनको भनाइ छ । डा. केशव आचार्यले सरकारले पूँजीगत खर्च ९० प्रतिशत नपु¥याउने विकास आयोजनाका कर्मचारीलाइ सरुवा गर्ने नीति तथा कार्यक्रममा समावेश गरेर बढी आशाबादी बनाएपनि त्यो पूरा हुन नसकेको बताए ।
उनले ठेकेदारले लिने भुक्तानीको बिल महिनांै दराजमा थन्क्याउने र अन्तिम समयमा मात्रै एकैचोटी भुक्तानी दिने प्रवृत्तीले पनि पूजीगत खर्चमा असर पुगेको बताए । समिति सभापति कृष्णप्रसाद दाहालले आयात घट्दा राजश्व घट्ने अवस्था रहेको बताए । उनले पूँजीगत खर्च पनि गतबर्षको भन्दा कम हुँदा आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।