काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन अहिल्यै हतार नगर्न संघीय संसदको अर्थ समितिलाई सुझाव दिएको छ । राष्ट्र बैंकको यस्तो सुझावसँगै बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषय अहिले टुङ्गो नलाग्ने देखिएको छ ।
राष्ट्र बैंकले धितोपत्र बजारका बारेमा विस्तृत अध्ययन गरेर मात्रै प्रक्रिया अघि बढाउन अर्थ समितिलाई सुझाव दिएको हो । ‘राष्ट्र बैंकको नयाँ सुझाव आएको छ , अलि अध्ययन गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ ’ अर्थ समिति सभापति कृष्ण दाहालले भने । यो बिषयमा समितिले बनाएको उपसमितिले निर्धारित समयमा प्रतिवेदन नबुझाउदा अन्योल सिर्जना भइरहेको थियो ।
वाणिज्य बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने सम्बन्धमा अर्थ समितिले चासो देखाएपछि अध्ययनका लागि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सो उपसमितिले मंसिर २ गते नै समितिलाई अध्ययन प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, उपसमितिले केही दिन अघि मात्रै छलफल सुरु गरेको छ ।
पुँजी बजारका समस्याबारे छलफल गर्न अर्थ समितिले सरोकारवालालाई डाकेर उपसमिति बनाएको थियो । उपसमितिले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा भित्री कारोबार कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्ने बिषयमा केन्द्रित रहेर अध्ययन गरिरहेका अर्थसमितिले जनाएको छ । तर, शेयर बजारमा अहिले नै पर्याप्त ब्रोकरहरु रहेको ब्रोकर कम्पनीका सञ्चालकहरुले बताउदै आएका छन् ।
कारोबारको आधारमा सञ्चालित ५० कम्पनीलाई नै पर्याप्त काम नपुगेको उनीहरुको भनाई छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषयमा छलफल चलिरहदा धितोपत्र बोर्डले भने ब्रोकर कम्पनी मर्जरमा लाने तयारी गरेको छ । सो सम्बन्धि नियमावली संशोधनका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । एकातिर नयाँ ब्रोकर कम्पनी थप्ने अर्कातिर मर्जरमा जाउ भन्ने सरकारको प्रवृति पूँजी बजारका लागि राम्रो नभएको ब्रोकर कम्पनीहरु बताउँदै आएका छन् ।
१९ बैंकलाई ब्रोकर लाईसेन्स
राष्ट्र बैंकले बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि करिब दुई दर्जन बैंक इच्छुक देखिएका छन् । १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरको काम गर्न बाटो खुलेको छ । त्यस्ता बैंकहरुमा नेपाल इन्भेष्टमेण्ट ,बैंक अफ काठमाडौं, एनआईसी एशिया, कुमारी , सिद्धार्थ, ग्लोबल आइएमई, जनता ,मेगा , सेञ्चुरी र सानीमा बैंक लगायत रहेका छन् ।
त्यस्तै, ब्रोकर लाइसेन्सका लागि ९ वटा वाणिज्य बैंकहरुको आवेदन राष्ट्र बैंकमा परेको छ । त्यस्ता बैंकहरुमा माछापुच्छ्रे,सनराइज ,सिभिल, कृषि विकास, सिटिजन्स इन्टरनेशनल, हिमालयन बैंक, लक्ष्मी, नेपाल बङ्गलादेश,बैंक र नबिल बैंकलगायतका छन् ।