काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीको जिल्ला अदालतमा मुद्धा हारेको छ । इटालीको कोर्ट अफ बोलनाले सुनुवाइ गर्दै ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी) पक्षमा फैसला गरेको हो । इन्भेस्टमेन्ट बैंकले सीएमसीको नेपालमा काउन्टर ग्यारेन्टी वापतको झण्डै २ अर्ब रुपैयाँ नपाउने फैसला त्यहाँको कोर्ट बलोनाले गरेको हो ।
ठेकेदार सीएमसीले काम नगरेपछि तनहुँ जलविद्युत आयोजनाले काउन्टर ग्यारेन्टी बसेको नेपाल इन्भेस्टमेन्टबाट करिव २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टी जफत गरेको थियो । तनहुँले काउन्टर ग्यारेन्टी जफत गरेपछि सोको विरुद्धमा सीएमसीले इटालीको कोर्ट अफ बलोनमा मुद्धा दायर गरेको थियो ।
मुद्धा हारेपनि काउन्टर ग्यारेन्टी फिर्ताका लागि इन्भेस्टमेन्ट बैंकले सोही अदालतमा अपिल गर्ने भएको स्रोतले बतायो । स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्टले अपिलका लागि तयारी गरिरहेको छ ।
अपिलबाट पनि सुनुवाइ नभए बैंकलाई त्यहाँको उच्च अदालत जाने बाटो खुला हुने छ । सीएमसीको इन्भेस्टमेन्ट बैंकमा भएको ग्यारेन्टी वापतको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँ गरी १ अर्ब ९७ करोड रुपैयाँ जफत गरेको थियो ।
तनहुँले सीएमसीको काउन्टर ग्यारेन्टी जफत गरेपछि इन्भेस्टमेन्ट बैंकले सो रकम इटालियन बैंकसंग फिर्ता मागेको थियो । तर, इटालियन अदालतबाट तत्काल जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको थियो ।
तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । यसअघि तनहुँले गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सीएमसीलाई दिएको थियो ।
गत फागुन ७ मा ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सीएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावरले फागुन २२ गते ठेक्का सम्झौता रद्द गरिएको जानकारी सीएमएसीलाई गराएको थियो ।
तनहुँ हाइड्रोपावर र सीएमसीबीच गत वर्षको असोजमा २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा प्रोभिजनल खरिद सम्झौता भएको थियो ।
झण्डै २ अर्ब रुपैयाँ काउन्टर ग्यारेन्टीको रकम असुल नभएपछि नेपाल इन्भेस्टमेन्टकाके निष्क्रिय कर्जा बढेपछि गत वर्षको नाफामा असर परेको छ । यसको असर चालु आर्थिक वर्षमा पनि पर्ने देखिएको छ ।
यसअघि बैंक अफ काठमाण्डु र हिमालयन बैंकले चाइना रेल्वे १५ व्यूरो कर्पाेरेशनको काउन्टर ग्यारेन्टी रकम चाइना कन्ट्रक्सन बैंकले फिर्ता दिएको छैन । दुई बैंकको गरी झण्डै २ अर्ब रुपैयाँ छ ।