काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ४२.६१ अंक बढेर नेप्से परिसुचक १ हजार २४४.७२ अंकमा पुगेको छ । अघिल्लो सातादेखि उकालो लागेको सेयर बजार निरन्तर बढेको छ । आइतबार बीमा र लघुवित्त संस्थाले बजार बढाएका छन् ।
आइतबार १ अर्ब ३३ करोड ५७ रुपैयाँ बराबरको ३८ लाख ३१ हजार ५४ कित्ता सेयर किनबेच भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफको सेयर प्रतिकित्ता १ हजार ५ रुपैयाँ ५ करोड ८८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको सेयर मूल्य बढेको छ ।
यस्तै ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४०३ रुपैयाँमा ४ करोड ६३ लाख ५६ हजार र एनआईसी एसिया बैंकको प्रतिकित्ता ४४६ रुपैयाँमा ४ करोड ७ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार बैंक तथा वित्त, बीमा, जलविद्युत, उत्पादन, होटल र म्युचअल फण्डलगायत सेयर मूल्य बढेको छ ।
नेपाल लाइफ, प्रिमियर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन ।
सेयर बजारले गति लिन थालेको नेपाल सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुलेलले बताए । उनले धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि बजार सुधारको नयाँ योजना आउने अपेक्षा लगानीकर्ताको रहेको उनले बताए ।
यस्तै लघुवित्त संस्थाको वित्तीय अवस्था राम्रो र आकर्षक प्रतिफल दिने भएकाले लगानीकर्तको विश्वास बढेको उनको भनाई छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले पनि सेयर बजार बढ्ने संकेत गरेका छन । उनले बैंकमा पर्याप्त तरलता रहेकाले सेयर बजारमा लगानी अझ बढ्ने बताएका छन ।