काठमाडौं । पाम आयलको विषयलाई लिएर भारतीय पक्षले पटक पटक नेपाली अधिकारीहरुसंग सोधपूछ गरिरहन्थे । यतिसम्म कि नेपाल–भारतको संयुक्त बैठकमा समेत सबैभन्दा पहिला छलफल हुने विषय पाम आयल थियो ।
पाम आयलको विषय सकिएपछि मात्रै एजेन्डामा प्रवेश गर्ने गरेका थिए, भारतीय । खासगरी पाम आयलको भ्यालू एडको विषयलाई लिएर उनीहरुको गम्भीर चासो थियो । तोकिएको भ्यालू एड नभइ नेपालबाट पाम आयल भारत गइरहेको छ भन्ने बुझाइ उनीहरुको थियो ।
भारतीय पक्षले बारम्बार भ्यालू एडको विषयलाई लिएर चासो लिन थाले पछि वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई नेपालमा रहेको १८ ओटा पाम आयल रिफाइनरीमै त्यसबारे बुझ्न पठाइयो ।
उपसचिवको नेतृत्वमा खटिएको टोलीले मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएपछि बल्ल थाहा भयो –पाम आयलको भ्यालू एड झण्डै ४० देखि ४५ प्रतिशत छ । त्यसपछि नेपालले भारतलाई नेपालको कारखाना भ्रमणका लागि समेत बोलाएको र ४० देखि ४५ प्रतिशतसम्म भ्यालू एड भएको जानकारी गराएको थियो ।
सरकार आफू पूर्ण रुपमा कन्भिन्स भएपछि भारतीय पक्षलाई जानकारी गराएको थियो । सरकारले भारतलाई औपचारिक रुपमा जवाफ पठाएपछि उनीहरु नेपाल हेर्न भने आएनन् ।
‘भारतीय पक्षले कुरा सुन्दा उनीहरु जसरी पनि पाम आयलमाथि केही न केही गर्ने मोडमा थिए,’ मन्त्रालयका एक अधिकारीले भने, । ३० प्रतिशत भ्यालू एड भएको थाहा पाएपछि उनीहरुले त्यो कुरालाई भने रोकेका थिए ।
नेपालको भ्यालू एड राम्रो देखिएपछि उनीहरुले अन्य उपाय लगाएर अहिले पाम आयलको आयातमा प्रतिबन्ध लगाएका छन् । नेपाल सरकारले कुन कानूनलाई टेकेर आयातमा रोक लगाएको भन्दै उनीहरुसँग जवाफ मागिरहेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले भारतीय समकक्षी अनुप बधावनसँग यही विषयलाई कुरा पनि गरेका छन् । नियम कानूनसम्वत् पाउने अधिकारमाथि किन रोक लगाइयो ? भनेर प्रश्न गरेका छन् ।
भारतले पाम आयल आयातमा रोक लगाइपछि नेपाल त्यसको प्रत्यक्ष मर्कामा परेको हो । नेपालको निर्यातमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पाम आयल निर्यातमा रोक लगाएपछि वाणिज्य सचिव अर्यालले भारतीय पक्षसँग निरन्तर कुराकानी गरिरहेका छन् ।
मन्त्रालयका अनुसार ३० प्रतिशत भन्दा बढी भ्यालू एड हुने वस्तु निर्यात गर्न नेपालले पाउँछ । व्यापारीले ६९ रुपैयाँ प्रतिलिटरमा पाम आयल ल्याएर १०४ रुपैयाँ भारत निकासी गरिरहेका छन् । यसरी हेर्दा पाम आयलमा भ्यालू एड ३० प्रतिशत भन्दा बढी नै देखिन्छ ।
भारतले पटकपटक पाम आयलको विषयमा नेपाली पक्षसँग कुरा गरेको थियो । भारती पक्षले भ्यालू एडको विषयमा कुरा उठाएपछि सरकारले आन्तरिक रुपमै अध्ययन गरेको थियो । अध्ययनबाट ३० प्रतिशत भन्दा बढी भ्यालू एड भएको पाइएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय पक्षलाई नेपालमै आएर हेर्न समेत आग्रह गरेको थिए ।
जुन तहमा ‘भ्यालू एड’ हुनुपर्ने हो, सो भन्दा बढी देखिएपछि नेपाली पक्षले भारतीयलाई बोलाएको थियो । भारतले ३० प्रतिशत भन्दा बढी ‘भ्यालू एड’ भएको वस्तुको निकासी रोकेपछि सचिव स्तरीय तहमा कुरा गरेका हुन् ।