काठमाडौं । कर्मचारी सञ्चय कोषले नेपाल राष्ट्र बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा रहेको संस्थापक सेयर खरिद गर्न लागेको छ । राष्ट्र बैंकको नेप्सेमा १४ प्रतिशत संस्थापक सेयर छ । सेयर खरिदका लागि सञ्चय कोषले राष्ट्र बैंकमा पत्राचार गरेको छ ।
कोषले १४ प्रतिशत संस्थापक सेयर किन्ने प्रस्ताव गरेको छ । उसले पहिलाको दरमा सेयर किन्न प्रस्ताव गरेको छ । प्रतिकित्ता १ हजार ३२ रुपैयाँमा खरिदको प्रस्ताव गरेको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । उनले राष्ट्र बैंकसंग छलफल भइरहेको जानकारी दिए ।
राष्ट्र बैंकले यसअघि लिलामबाट सेयर बिक्री गर्दा सञ्चय कोषले १०, प्रभु बैंक र लक्ष्मी बैंकले ५ ५ प्रतिशत खरिद गरेका थिए । कोषले प्रतिकित्ता १ हजार ३२ रुपैयाँमा सेयर खरिद गरेको थियो ।
राष्ट्र बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९ कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो । २० प्रतिशत सेयर बिक्री भइसकेको छ ।
नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को ०.६२ प्रतिशत स्वामित्व रहेको थियो । नेप्सेमा सञ्चय कोष, प्रभु र लक्ष्मी बैंकको प्रवेश भएको छ ।
सरकारले बनाएको वित्तीय क्षेत्र विकास रणनीतिमा आर्थिक वर्ष २०७४/०७५ भित्र नेप्सेको स्वामित्व पूर्ण रुपमा हस्तान्तरण गर्ने उल्लेख थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले नेप्सेमा १० प्रतिशत भन्दा बढी सेयर लगानी नहुने बताएका छन । नेप्सेको साधारणसभालाई मंगलबार सम्बोधन गर्दै १४ प्रतिशतबाट घटाउनमा जोड दिएका छन ।
पछिल्लो समय राष्ट्र बैंकले विभिन्न कम्पनीमा गरेको लगानी फिर्ता लिन थालेको छ । पछिल्लो समयमा कोषले बैंक तथा वित्तीय संस्थामा लगानी बढाएको छ ।