काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ । डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्दा प्रमाणहरु फेला नपरेपछि सरकारले उनलाई सफाइ दिएको हो ।
डेपुटी गभर्नरलाई सफाइ दिएको सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए । नियमित पत्रकार सम्मेलनमा उनले डेपुटी गर्भनरको छानविन गर्दा कुनै गल्ति नभएको देखिएको बताउँद सफाइ दिएको पुष्टि गरे । उनले छानविन हुनु स्वभाविक भएपनि प्रमाण नभेटेपछि सफाइ दिएको स्पष्टपारे । प्रधानमन्त्री केपी शर्मा ओलीले नै डेपुटी गभर्नर श्रेष्ठको केशमा गल्ती भएको स्वीकार गरेको स्रोतले बतायो ।
उनीमाथि लागेका आरोपको छानबिन गर्न राष्ट्र बैंकले सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेको प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । मन्त्रिपरिषदमा लामो समयसम्म रहेको सो प्रतिवेदनमाथिको छलफलपछि डेपुटी गभर्नर श्रेष्ठलाई बर्खास्त गरिने बताइएको थियो ।
डेपुटी गभर्नर श्रेष्ठमाथि पद अनुकुलको काम नगरेको, वित्तीय क्षेत्रमा अनुचित गतिविधि गरेको, व्यवसायी अजेयराज सुमार्गीको पैसा बैंकबाट निकाल्न सहयोगी भूमिका खेलेको, सम्पत्ति शुद्धिकरणमा सघाएको, एनसेलको लाभांश लैजान स्वीकृति दिएको, बैंक तथा वित्तीय संस्थाको नियमनको काममा बदनियत राखेको ,वैदेशिक भ्रमण जाँदा आफुले पाउने भन्दा बढी फर्जी कागजात बनाएर अनाधिकृत सुविधा लिएको लगायतका आरोप लगाइएको थियो ।
यस्तै श्रेष्ठले केही बैंकको खराब कर्जा वास्तविक नदेखाएर घटाउनको लागि सहयोगी भूमिका खेलेको आरोप लागेको थियो । त्यस्तै,उनलाई खराब कर्जालाई एभरग्रिनिङ गर्न लागि मद्दत गरेको समेत आरोप लागेको थियो ।