काठमाडौं । एनआईसी एसिया बैंकको चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ३३.३९ प्रतिशत बढेको छ । पुससम्म बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा नाफा ५० करोड ४७ लाख रुपैयाँ बढेको उल्लेख गरेको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ७ करोड रुपैयाँ लाभांश वितरण गर्न सक्ने देखिएको छ ।
समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ थियो ।
बैंकको निष्क्रिय कर्जा अनुपात ०.४६, निक्षेप लागत ७.२५, सीसीडी रेसियो ७८.१८, आधारदर ९.६२ र स्प्रेडदर ५ प्रतिशत रहेको छ । बैंकले स्प्रेडदरबाट बढी आम्दानी गरेको वित्तीय विवरणमा देखिएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६१ पैसा, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ । बैंकको सञ्चित कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ छ ।
पुससम्म बैंकले १ खर्ब ७८ अर्ब ७४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ५१ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
लगानीयोग्य रकमको अभाव, सरकारको खर्च न्युन र प्रतिस्पर्धाका बावजुद नतिजा सन्तोषजनक रहेको बैंकले जानकारी गराएको छ ।