काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले मङ्गलबार आयोजना गरेको ६६ औं भन्सार दिवस कार्यक्रममा सहभागी अधिकांश व्यवसायीले भन्सारको सन्दर्भ मूल्य च्यात्नुपर्ने आवाज उठाएपछि राजस्व सचिव शिशीरकुमार ढुङ्गानाले नेपालमा लुब्रिकेन्ट र गाडी कतिमा आउने सरकारले हेर्ने बताए ।
‘सन्दर्भ मूल्य च्यात्न कुनै समस्या छैन्, सन्दर्भ मूल्यपछि नेपालमा भित्रिने गाडी र लुब्रिकेन्टस कतिमा भित्रिन्छ ? त्यो पनि हामी पनि हेर्छौै,’ सन्र्दभ मूल्य च्यात्नुपर्ने आवाज उठाइरहेको व्यवसायीलाई लक्षित गर्दै ढुङ्गानाले भने, ‘त्यसपछि थाहा हुन्छ, गाडी कतिमा भित्रिन्छन्, लुब्रिकेन्ट कतिमा आउँछ ।’
‘सन्दर्भ मूल्य च्यातेपछि कृष्णजी (नाडाका अध्यक्ष कृष्ण दुलाल)ले लुब्रिकेन्ट कतिमा ल्याउनुहुन्छ ? अञ्जन जी (लक्ष्मी ग्रुपका अञ्जन श्रेष्ठ) ले कतिमा गाडी ल्याउनुहुन्छ, त्यो हामी पनि हेर्छौ,’ ढुङ्गानाले भने, ‘सन्दर्भ मूल्य च्यातौ, तपाइहरुले ल्याउने सामान हामी हेर्छौ ।’
‘आफूले व्यवसाय कसरी गरिरहेका छौं, त्यो पनि हेरौ । आफूले कति स्वच्छ रुपमा व्यवसाय गरेका छौं । त्यो पनि ख्याल गरौ,’ उनले भने, ‘हामीले स्वच्छ व्यवसाय गर्ने बानीको विकास गरौं ।’
त्यसैगरी, संसारभर एचएस कोर्ड एउटै हो । एचएस कोर्ड फरक फरक भएर सुविधा पाएनौ भन्ने कुरा अलि नमिलेको ढुङगानाले बताए । तर, डोमेष्टिक कोर्डको सवालमा केही समस्याहरु छन् । त्यसका लागि भन्सार विभागले आवश्यक गृहकार्य गर्छ ।
हामीले एचएस कोर्ड ९० भन्ने शिर्षकमा राखेर सामान ल्याउने गरेका छौ । ९० भनेको अन्य शिर्षकअन्तर्गत पर्छ । त्यसमा हालेर सामान ल्याउन मिल्दैन । एचएस कोर्ड जति ९० मा राखेर ल्याउँदा मिल्दैन । त्यही भएर समस्या जस्तो लागेको हुन ढुङ्गानाले बताए । जय जी ( जय शिवाकोटी) ले ९० एचएस कोर्ड अलि धेरै हेर्ने गर्नुभएको छ ।
‘व्यवस्थित गरौ, विधिसम्मत गरौ । हामीलाई पनि अनावश्यक रुपमा नियमन गर्ने चाहना छैन्,’ उनले भने । आफ्नो परेको मूल्य घोषणा गरौं, त्यसो हुँदा पछि समस्या पर्दैन ।
‘तपाईहरुलाई कसले कसरी चोरेर सामान ल्याउँछ भन्ने थाहा छ’, हाम्रा अघि भन्नु हुँदैन त,’ उनले भने, ‘कसले कसरी चोरी गरेर ल्याउँछ, हामीलाई भन्नुस्, भन्दा कोही नभन्ने ।’