काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हालसम्म दोस्रो बजारमा सूचीकृत ५६ कम्पनी तथा म्युचुअल फण्डद्वारा लाभांश घोषणा भएको विवरण सार्वजनिक गरेको छ। सूचीकृतमध्ये ३६ कम्पनी तथा २० वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को कारोबारमा आधारित सञ्चित नाफाबाट लाभांश घोषणा गरेको नेप्सेले जानकारी दिएको हो।
नेप्सेका अनुसार उत्पादन तथा प्रशोधनमूलक उद्योगमा कुल ९ कम्पनी रहेकामा हालसम्म युनिलिभर नेपाल, बोटलर्स नेपाल र नेपाल ल्युब आयले लाभांश घोषणा गरेका छन्। यीमध्ये हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये युनिलिभर नेपालले १७१४ प्रतिशत, बोटलर्स नेपालले ५० प्रतिशत र र नेपाल ल्युब आयलले २५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
यस्तै, लाभांश घोषणा गर्ने वाणिज्य बैंक समूहमा ९, विकास बैंकमा तीन, फाइनान्स कम्पनी समूहमा एउटा, होटल समूहमा २ कम्पनी रहेका छन्। लगानी समूहका २, जीवन बिमा समूहका दुई, उत्पादनमूलक उद्योगतर्फ चार, लघुवित्त १३ तथा म्युचुअल फण्ड २० वटा छन्।
२० वाणिज्य बैंकमध्ये ९ वटाले लाभांश घोषणा गरेका छन्। सबैभन्दा धेरै लाभांश स्ट्यान्डर्ड चार्टर्ड बैंकले नगद र बोनस सेयर गरी २५.५ प्रतिशत घोषणा गरेको छ। एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश, नेपाल एसबीआईको १०.६५ र नबिल बैंकले १० प्रतिशत लाभांश घोषणा गरेका हुन्। बाँकी ६ बैंकको लाभांश एकल अंकमा रहेको छ।
नेप्सेका अनुसार विकास बैंक समूहअन्तर्गत हाल १७ कम्पनीको सेयर कारोबार हुँदै आएको छ। हालसम्म कामना सेवा विकास बैंकले १२ प्रतिशत, मितेरी डेभलपमेन्टले १० प्रतिशत र साइन रेसुंगा डेभलपमेन्ट बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
फाइनान्स समूहमध्ये १५ कम्पनी नेप्सेमा सूचीकृत रहेकामा हालसम्म श्री इन्भेष्टमेन्ट एन्ड बैंकिङले १.९६ प्रतिशत लाभांश घोषणा गरेको छ भने १४ कम्पनीले हालसम्म घोषणा गरेका छैनन्।
नेप्सेको होटल तथा पर्यटनमा सूचीकृत ६ कम्पनीमध्ये सोल्टी होटलले ३६.८४ प्रतिशत र ओरेन्टल होटलले ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन्।
लगानी समूहतर्फ ७ कम्पनी सूचीकृत रहेकामा हालसम्म एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले ५.२६ प्रतिशत, सीईडीबी होल्डिंग्सले ११ प्रतिशत र हाथवे इन्भेष्टमेन्टले १०.५२ प्रतिशत लाभांश घोषणा गरेका छन्।
जीवन बिमा समूहतर्फ १२ कम्पनी रहेकामा सूर्यज्योति लाइफले २० प्रतिशत बोनस सेयर र सानिमा रिलायन्स लाइफले १८३८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
म्युचुअल फण्डमध्ये एनएमबी–५० र सानिमा म्युचुअल फण्डले १५ प्रतिशत लाभांश घोषणा गरेका छन्। सिटिजन सुपर ३०, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–३, प्रभु सेलेक्ट फन्ड र सानिमा ग्रोथ फन्डले १० प्रतिशत लाभांशसहित दोहोरो अंकमा लाभांश दिन सफल भएका छन् भने एकल अंकमा सीमित छ।
नेप्सेका अनुसार माइक्रोफाइनान्स समूहअन्तर्गत ५० कम्पनी नेप्सेमा सूचीकृत छन्। यीमध्ये हालसम्म १३ वटाको लाभांश मात्रै घोषणा भएको छ। मिथिला, छिमेक, नेसनल, स्वाबलम्बन, आशा र गुराँस लघुवित्त गरी ६ वटाले १५ प्रतिशत लाभांश घोषणा गरेका छन्। सपोर्टले १४.५ प्रतिशत, फर्वार्ड र साना किसानले १४ प्रतिशत तथा आरएसडीसीको १० प्रतिशत, फस्ट्र माइक्रोफाइनान्सको ९.४७ प्रतिशत र सूर्योदय वोमीले ७ प्रतिशत लाभांश घोषणा गरेका छन्।
कम्पनी ऐनअनुसार प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्छ भने २१ दिनअघि साधारणसभा बोलाइसक्नुपर्ने कानुनी व्यवस्था छ। हालसम्म निर्जीवन बिमा कम्पनी, व्यापारमूलक कम्पनी र अन्य समूहका कम्पनीले पनि लाभांश घोषणा गरेका छैनन्।
