काठमाडौं। एउटै आईपी ठेगानाबाट गरिएका कारोबार, एकअर्कासँग गाँसिएका कम्पनीहरूको जाल र बिना एक रुपैयाँ भुक्तानी अर्बौंको सेयर सेटलमेन्टले नेपालको पूँजीबजारमा अहिलेसम्मकै ठूलो 'सङ्गठित वित्तीय षड्यन्त्र'को पर्दाफास गरेको छ।
धिताेपत्र बाेर्डले गरेकाे अनुसन्धानमा यस घटनाक्रमको धुरीमा छन्— व्यवसायी दीपक भट्ट, सुभी अग्रवाल, ऋषिराज मोर। यी व्यक्ति मिलेर भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत नेपाल पुनर्बिमा कम्पनीको सेयर, नबिल डिबेन्चर, एनआईएमबी डिबेन्चर, एसबीएल डिबेन्चर र नेपाल एसबीआई डिबेन्चर खरिद गरे। तर एक रुपैयाँ पनि भुक्तानी गरेनन्। खरिदको रकम आयो हिमालयन रि–इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन क्यापसर्भलगायत संस्थाहरूबाट। अर्थात् सर्वसाधारण लगानीकर्ता र बिमितको कोष यो षड्यन्त्रमा इन्धन बन्यो।
धितोपत्र बोर्डको प्रतिवेदनका अनुसार भट्टले नेपाल पुनर्बिमाको २० लाख ७२ हजार २१३ कित्ता सेयर र चार वटा ऋणपत्र गरी जम्मा ३ अर्ब ८० करोड ५३ लाखभन्दा बढीको धितोपत्र खरिद गरे, तर भुक्तानी शून्य रह्यो। उनलाई अग्रिम रकम नराखीकनै कारोबार गर्न अनुमति दिइएको थियो र खरिद गरेको सेयरको पैसा तिर्न भृकुटी स्टकलाई २ अर्ब ७३ करोड भुक्तानी अझै बाँकी छ। यति मात्रै होइन, उनले ती डिबेन्चरहरू आफूसँगै जोडिएका कम्पनीहरूबाट खरिद गरी मूल्य बढाई पुनः आफूसँगै जोडिएका अन्य संस्थाहरूलाई बेचे। यी सबै कारोबारमा एउटै आईपी ठेगाना प्रयोग भएको प्रतिवेदनले उल्लेख गरेको छ, अर्थात् किन्ने र बेच्ने दुवैतर्फ एउटै व्यक्ति वा टोलीको नियन्त्रण थियो।
सुभीको अवस्था झनै चर्को छ। उनले भृकुटी स्टकमार्फत नेपाल पुनर्बिमा, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको गरी करिब ३ अर्ब मूल्यको सेयर खरिद गरिन्। बोर्डको प्रतिवेदन भन्छ "अग्रवालको भृकुटी स्टकमा रहेको कारोबार खाताको विश्लेषण गर्दा उनले धितोपत्र खरिद बापत कुनै पनि रकम जम्मा गरेको पाइएन।" एक समयमा उनको बक्यौता १ अर्ब ३६ करोड नाघेको थियो र हाल ६२ करोड ८९ लाख भुक्तानी बाँकी रहेको छ।
यो काण्डको सबैभन्दा जटिल पाटो भनेको परस्परसम्बद्ध कम्पनीहरूको सञ्जाल हो। हिमालयन रि–इन्स्योरेन्समा भट्टको इन्फिनिटी होल्डिङ्सको ४.५ प्रतिशत स्वामित्व छ। हिमालयन सेक्युरिटिज बैंकर हिमालयन रिकै सहायक कम्पनी हो जसमा भट्टको ७ प्रतिशत हिस्सा छ। हिमालयन क्यापसर्भमा हिमालयन रिको शत–प्रतिशत स्वामित्व छ भने हिमालयन इन्भेष्टमेन्ट बैंकरमा आयुष्मा नेपालको ८.२५ प्रतिशत हिस्सा छ। नेपाल माइक्रो इन्स्योरेन्समा भट्टको आफ्नै १५ प्रतिशत स्वामित्व छ। यही जालको फाइदा उठाएर एउटा कम्पनीबाट सस्तोमा ऋणपत्र किनिन्थ्यो, मूल्य बढाएर अर्को सम्बद्ध कम्पनीलाई बेचिन्थ्यो। नोक्सान तिनै संस्थाहरूलाई र फाइदा भट्टलाई। बोर्डकै भाषामा भन्नुपर्दा, "आफैँ संलग्न कम्पनीबाट खरिद गरी मूल्य बढाएर आफैँ संलग्न कम्पनीको म्युचुअल फण्डलाई बिक्री।"
शाहले नेपाल पुनर्बिमाको १ अर्ब ४१ करोड ८० लाख बराबरको सेयर खरिद गर्दा तिरेको जम्मा ५२ करोड ५० लाख मात्रै हो, ८९ करोड ७० लाख अझै बाँकी छ। ऋषिराज मोरको नाममा पनि २३ करोड १ लाख भुक्तानी हुन बाँकी रहेको छ।
यो प्रकरणमा धितोपत्र बोर्डले झुटो कारोबार, मूल्य उतारचढाव र जालसाजीयुक्त कारोबारको कसुर लगाउँदै भट्ट र भृकुटी स्टकका कार्यकारी प्रमुख सन्दीप चाचानलाई अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाउन सिफारिस गरेको छ। एक वर्षसम्म कैद, जरिवाना र सार्वजनिक संस्थाको पदमा अयोग्यताको कारबाहीसमेत सिफारिस गरिएको छ। हिमालयन रि, नेपाल माइक्रो इन्स्योरेन्स, रोहित गुप्तालगायत सबैलाई सहयोगी ठहर गर्दै प्रहरी अनुसन्धानमा पठाउन बोर्डले सिफारिस गरिसकेको छ र भृकुटी स्टकको ब्रोकर अनुमतिपत्र खारेजीको सिफारिससमेत भइसकेको छ।