काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफैं सन्तुष्ट नभएको बताएका छन्। बुधबार अर्थ समितिमा भएको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘हाम्रो अर्थतन्त्र समस्यामा छ, केही कठिनाइ छ। यो अस्वीकार गर्नुपर्ने विषय होइन। तर, क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौं। लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन’, पौडेलले भने, ‘यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छाैं। अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन। यहाँहरु पनि हुनुहुन्न।’
उनले आफ्ना सबै प्रयास सफल हुन नसकेको उल्लेख गरे। तीन प्रतिशतको वृद्धिबाट आज १६/१७ प्रतिशतसम्म आइपुगेको र यसले पनि सुधारमा गएको देखाउने उनको तर्क छ।
‘राजस्वको लक्ष्य पूरा गर्न ३०/३१ प्रतिशतको वृद्धि गर्नुपर्छ। तर, गत वर्ष १० प्रतिशत वृद्धि भएकोमा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न। तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौं’,अर्थमन्त्री पौडेलले भने, ‘राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौं।’
उनले हालको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गते। ‘हामी तरलता बढ्यो र ब्याजदर घट्यो भनेर सन्तोष मानेर बस्ने अवस्था छैन। यो तरलता उत्पादनमूलक काममा लाग्नु आवश्यक छ’,अर्थमन्त्री पौडेलले भने।
कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति म्यानुपुलेसनको कारकः पूर्वअर्थमन्त्री महत
बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको उल्लेख गरे।

‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ। यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ’,महतले भने, ‘सीमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ।’
उनले सेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको उल्लेख गरे। ‘सेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ। यसर्थ, नियामक निकायले पारदर्शी भूमिका खेल्न आवश्यक छ’,महतले भने, ‘बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गरेर जान आवश्यक छ।’
महतले नेपालको कन्ट्री रेटिङ पनि आएको र अवस्था राम्रै देखिएकाले लगानी भित्र्याउन सरकारले थप काम गर्न आवश्यक भएको बताए।