काठमाडौं। नेपालमा पहिलो पटक किबीको वाइन उत्पादन गर्ने माउन्ट एभरेष्ट वाइनरीका सञ्चालकले सेयर नामसारीको नाममा करोड ठगी गरेको तथ्य बाहिर आएको छ। माउन्ट एभरेष्ट वाइनरीका सञ्चालक विष्णु बास्तोलाले सोही कम्पनीको सेयर नामसारी गर्ने भन्दै १ करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको हो।
एभरेष्ट वाइनरीले २०७७ सालदेखि धनकुटामा उल्पादित किबीबाट ‘प्रिन्सेस वाइन’ उत्पादन सुरु गरेको थियो। धनकुटाको चौविसे राजारानीमा फ्याक्ट्री स्थापना गरेर रेड र वाइट वाइन उत्पादन गरिरहेको माउन्ट एभरेष्ट वाइनरीमा हरेराम साह, सिताराम पाठक, शत्रुधन राय, सत्य नारायण साह र विष्णु बास्तोलाको सेयर लगानी छ।
साेही कम्पनीका प्रवन्ध निर्देशक समेत रहेका बास्तोला र अर्का सञ्चालक पाठकले आफ्नो नाममा रहेको ६० प्रतिशत सेयर नामसारी गरिदिने भन्दै नारायण पन्थीसँग १ करोड ५० लाख रुपैयाँ ठगी गरेका हुन्।
कम्पनीले गत वर्ष कर्जासहित १६ करोड रुपैयाँलाई शतप्रतिशत सेयर मानेर त्यसको ६० प्रतिशत सेयर बिक्री गर्ने निर्णय गरेको थियो। जसको मूल्य ९ करोड ६० लाख रुपैयाँ हुन आउँछ। सोही सेयर खरिद गर्न बास्तोलाले नारायणसँग १ करोड ५० लाख रुपैयाँ बैना लिएका थिए। ६ महिनाभित्र सेयर पास गरिदिने सम्झौता गरी बास्तोलाले नारायणलाई विश्वास दिलाउनका लागि कम्पनीकाे नाममा हिमालयन बैंकको इटहरी शाखामा रहेको खाताको खाली चेक दिएका थिए।
निर्धारित समयमा पन्थी माउन्ट एभरेष्ट वाइनरीमा पुग्दा सेयर नामसारी गर्न नसक्ने भन्दै कम्पनीले उनको नाममा १ करोड ५० लाख रुपैयाँको हिमालयन बैंकको चेक काटेको थियो। चेक सटही मिति २०८१ असोज १ गते राखी काटिएको उक्त चेक सटहीको लागि ग्लोबल आइएमई बैंक सुकेधारामा पुग्दा खातामा प्रयाप्त रकम नभएको बैंकले जानकारी दिएको थियो।
चेक सटही नभएपछि पन्थीले माउन्ट एभरेष्ट वाइनरीका सञ्चालकहरुलाई जानकारी गराउँदा पैसा नभएको भन्दै पर्खाउन थालेपछि उनले ठगीको मुद्दा हालेका छन्। हिमालयन बैंकको पत्रले खाता नम्बर ०२१०७१८३०८००११ बाट दिइएको चेक नम्बर ००३१५६६८७० मा उल्लेखित १ करोड ५० लाख रुपैयाँ– मिति २०८१/०६/०१ मा भुक्तानी हुने गरी लेखिएको र सो चेक भुक्तानीका लागि बैंकमा पेस हुँदा खातामा पर्याप्त रकम नभएकोले बाउन्स भएको प्रमाणित गरेको छ।
पन्थीले माउन्ट एभरेष्ट वाइनरी सञ्चालकहरुविरुद्ध गत बैशाखमा प्रहरी परिसर काठमाडौंमा जाहरी दिएका थिए। त्यसपछि प्रहरीले सञ्चालक बास्तोला र पाठकलाई विपक्षी बनाएर सरकारी वकिलको कार्यालय काठमाडौंमा मुद्दा चलाउन सिफारिस गरिसेको छ। सञ्चालक बास्तोलालाई प्रहरीले प्रक्राउ गरी बयान समेत लिएको छ भने पाठक फरार छन्।
सरकारी वकिलको कार्यालयमा साउन १ गते मुद्दा दर्ता भएर पहिलो थुनछेक बहस सकिएको र भदौ १९ गते दुवै पक्षको साक्षीको बहस हुने सहन्यायाधिवत्ता उद्धवप्रसाद पुडासैनीले जानकारी दिए। थुनछेक बहसपछि भने सञ्चालक बास्तोला धरौटीमा छुटेका छन्।
विपक्षी बास्तोलाको बयान
विपक्षी बास्तोलाले आफ्नो बयानमा वादीको दाबीलाई केहीहदसम्म स्वीकार गरेका छन्। तर, केही कुराहरूमा फरक तर्क प्रस्तुत गरेका छन्। कम्पनीको सेयर बिक्री गर्ने निर्णय भएको र वादी नारायण पन्थीले सेयर खरिद गर्न आएको स्वीकार गरेका छन्।
वादीबाट बैना रकम लिएको स्वीकार गरेका छन्। तर, कति रकम लिएको भन्ने कुरा बैंक स्टेटमेन्टले पुष्टि गर्ने बताएका छन्। वादीले सेयर पास नहुन्जेल ग्यारेन्टीका लागि कम्पनीको खाली चेक मागेकोले सीताराम पाठक र आफूले हस्ताक्षर गरी खाली चेक दिएको बयान दिएका छन्।
सेयर खरिद गर्ने समयसीमाभित्र वादीले बाँकी रकम दिन नसकेकोले सेयर नामसारी नभएको उनको तर्क छ। वादीले आफूखुसी खाली चेकमा १ करोड ५० लाख रुपैयाँ र मिति राखेको दाबी बास्तोलाको छ भने आफूहरूले वादीलाई सो रकम पूरै दिनु नपर्ने जिकिर गरेका छन्।
बास्तोलाको कसुर प्रमाणित भएमा बैंकिङ कसुर सजाय ऐन अनुसार १० करोड रुपैयाँसम्म बिगो र २ वर्षसम्म जेल सजाय हुनेछ।