काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको लगानीमा रहेको होटल फरेष्ट लिमिटेड ‘होलिडे इन’ले एक वर्षमा साढे १३ करोड रुपैयाँ बढीको व्यापार गरेको छ।
मन्त्री खड्काको श्रीमती विनिता थापा मुख्य सेयरधनी रहेको उक्त होटलले आर्थिक वर्ष २०२४/२५ मा कुल १३ करोड ६० लाख रुपैयाँ (अपरिस्कृत) बराबरको व्यापार गरेको हो।
काठमाडौंको होटल फरेस्ट लिमिटेडमा सन् २०१० मा स्थापना भएर सन् २०२४ देखि आंशिक व्यवसायिक सञ्चालन भएको हो। पाँचतारे होटल ‘होलिडे इन रिसोर्ट बूढानीलकण्ठ’ काठमाडौंको बूढानीलकण्ठमा १.२४ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
होटलमा १०४ वटा कोठाहरु छन्। करिब तीन अर्ब रुपैयाँमा २०७८ बाट निर्माण सुरु भएको होटल गत जुलाई ११ (असार २७) बाट पूर्ण रुपमा सञ्चालनमा आएको हो। होटलमा मन्त्री खड्काको श्रीमती थापा मुख्य सेयरधनी हुन्। होटलमा थापाको ३२ प्रतिशत सेयर स्वामित्व छ।
कोभिड र आर्थिक मन्दीका कारण निर्माण समय लम्बिएको यो होटलको व्यवस्थापन अमेरिकन चेन होटल इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी)ले लिएको थियो। यो ग्रुपअन्तर्गतको होलिडे इनको ब्रान्डमा काठमाडौंमा होटल सञ्चालनमा आएको हो।
होलिडे इन अमेरिकी आधारित मिडस्केल होटल चेन हो। आइएचजीले सन् २०२५ मार्चसम्म एक सयभन्दा बढी देशहरूमा ६ हजारभन्दा बढी होटलहरू सञ्चालन गरिरहेको छ।
पाँचतारे होटल ‘होलिडे इन रिसोर्ट’ गत वर्षदेखि सञ्चालनमा आए पनि यसले अपेक्षित व्यापार गर्न नसक्दा सञ्चालनका लागि बैंकिङ कर्जा लिन लागेको छ। सञ्चालन गर्न प्रारम्भिक चरणमा रहेका कारण होटलको वित्तीय अवस्था सबल नरहेको रेटिङ एजेन्सी इन्फोमेरिक्सको रिपोर्टले देखाएको छ।
इन्फोमेरिक्सले होटललाई दिएको दीर्घकालीन कर्जामा ‘डबल बी माइनस’ रेटिङले वित्तीय दायित्व समयमै भुक्तानीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
बैंकिङ कर्जा प्रयोजनका लागि होटलले इन्फोमेरिक्सले हालसम्मको वित्तीय अवस्था र भविष्यको सम्भावना मूल्यांकन गरेर दुई अर्ब १६ करोड २१ लाख ६० हजार रुपैयाँ कर्जा सीमा निर्धारण गरेको छ। जसमा दुई अर्ब ११ करोड २१ लाख ६० हजार रुपैयाँ दीर्घ कालीन कर्जामा ‘डबल बी माइनस’ र पाँच करोड रुपैयाँ अल्पकालीन कर्जामा ‘एफोर’ रेटिङ दिएको छ।
इन्फोमेरिक्सले होटललाई दिएको दीर्घकालीन कर्जामा ‘डबल बी माइनस’ रेटिङले वित्तीय दायित्व समयमै भुक्तानीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
तत्काललाई होटलले कर्जाको साँवा ब्याज भुक्तानी क्षमता राखे पनि केही प्रतिकुल आर्थिक असरले व्यवसायिक जोखिम बढ्दा ऋण तिर्न नसक्ने स्थितिमा होटल चाँडै पुग्छ। साथै, होटलले अल्पकालीन कर्जामा प्राप्त गरेको ‘एफोर’ रेटिङले वित्तीय दायित्व भुक्तानीमा कम जोखिम रहेको संकेत गर्छ।
रेटिङ रिपोर्टअनुसार होटल फरेष्टले आफ्नो मुख्य व्यवसायबाट सञ्चालन आम्दानी गर्न नसक्दा इबिआइटिडिएस (ब्याज, कर, ह्रास र परिशोधन) नकारात्मक छ। होटलले कर्मचारीको तबल, बिजुली, पानी अन्य खर्चसमेत सञ्चालन आम्दानीबाट धान्न सकेको छैन। होटलमा उच्च स्थिर लागत र ऋणमा आधारित पुँजीगत खर्च हुँदा होटलको करकट्टा अघि र पछि दुवै नाफा ऋणात्मक छ।
होटल सञ्चालनमा आएको करिब एक वर्ष पुग्न लाग्दा पनि अकुपेन्सी दर २६ प्रतिशत मात्रै छ। होटलले ग्राहकलाई आकर्षित गर्ने, उच्च अकुपेन्सी स्तर कायम राख्ने, बलियो ब्रान्ड उपस्थिति स्थापित गर्ने र अपेक्षित लाभ प्राप्त गर्ने प्रयास गरिरहेको छ। अन्तर्राष्ट्रिय ब्रान्डको सहयोग र अनुभवी टोली भए पनि होटलले प्रतिस्पर्धी बजारमा ग्राहक आकर्षित गर्ने सकस परेको छ।
होटलले सञ्चालनलाई विस्तार गर्दै अकुपेन्सी बढाउने र नाफाको स्तर सुधार गर्ने लक्ष्य राखेको छ। हाल होटल आंशिक रूपमा मात्र सञ्चालनमा रहेको र वित्तीय प्रदर्शन सामान्य रहेकाले पूर्ण रूपमा सञ्चालनमा आएपछि यसमा सुधार ल्याउने योजना देखिन्छ।