काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङ्सले नगरकोटमा तयार पारिरहेको लक्जरी रिसोर्ट भंगेरी दरबारको व्यवस्थापबाट ‘लेमन ट्री’ बाहिरिएको छ। सिजीले नगरकोटमा आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरी निर्माण गरिरहेको लक्जरी रिसोर्टको व्यवस्थापनको जिम्मा ‘लेमन ट्री’लाई दिएको थियो।
व्यवस्थापनको जिम्मेवारी दिए पनि होटल निर्माणको काम निर्धारित समयभन्दा ढिलाई भएपछि व्यवस्थापनको जिम्मेवारीबाट ‘लेमन ट्री’ बाहिरिएको सिजी होल्डिङ्समा आबद्ध एक उच्च अधिकारीले जानकारी दिए।
‘उसले भनेको समयमा हामीले रिसोर्ट निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न नसकेपछि लेमन ट्री बाहिरियो,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘अब आफै व्यवस्थापन गर्ने वा अन्यलाई ल्याउने भन्ने टुंगो लागेको छैन।’
लेमन ट्री भारतको लक्जरी रिसोर्ट र होटल व्यवस्थापन गर्दै आएको प्रसिद्ध ब्राण्ड हो। पछिल्लो समय भारतीय पर्यटकहरुको नेपालमा बढ्दो आगमनलाई ध्यानमा राख्दै लेमन ट्रीको प्रवेश बढिरहेको छ।
यसअघि २०८२ जेठमै रिसोर्ट सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, निर्माण कम्पनीले समयमै रिसोर्ट हस्तान्तरण नगरिदिँदा समस्या भएको जनाएको छ।
लेमन ट्री भारतको लक्जरी रिसोर्ट र होटल व्यवस्थापन गर्दै आएको प्रसिद्ध ब्राण्ड हो। पछिल्लो समय भारतीय पर्यटकहरुको नेपालमा बढ्दो आगमनलाई ध्यानमा राख्दै लेमन ट्रीको प्रवेश बढिरहेको छ। हाल लेमन ट्री प्रिमियरले बुढानीकण्ठमा पाँच तारे होटल व्यवस्थापन सम्हालिरहेको छ।
दशैँअघि सञ्चालनमा आउने
एक अर्ब लगानीमा निर्माण भएको रिसोर्ट दशैँअघि सञ्चालनमा आउने निश्चित भएको छ। भंगेरी दरबार रिसोर्टका एक उच्च अधिकारीका अनुसार दशैँअघि सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा भइसकेको छ।
‘अबको केही समयभित्रै हामी सञ्चालनको मिति सार्वजनिक गर्दै छौँ,’ ती अधिकारीले भने, ‘व्यवस्थापन आफैले लिने वा अरुलाई दिने भन्ने निर्धारण हुन मात्र बाँकी छ।’ साढे २६ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ५१ वटा कोठा तयार भएको छ।
सूर्योदय र सूर्यास्तलाई नजिकबाट नियाल्दै प्रकृतिसँग रमाउनेलाई आकर्षण केन्द्रको रुपमा रिसोर्टलाई राखिएको जनाएको छ। रिसोर्टका हरेक कोठाबाट हेर्न मिल्ने गरी निर्माण गरिएको सिजी होल्डिङसको तर्फबाट निर्माणमा सहभागी रहेका एक उच्च अधिकारीले जानकारी दिए।
रिसोर्टको पुनः निर्माण गरेर लक्जरी रिसोर्ट बनाउन चौधरी ग्रुपले २०७६ बाटै सुरु गरेको थियो। तर, कोभिड‑१९ र आर्थिक संकटको कारण लम्बिँदै गएको चौधरी ग्रुपले जनाएको छ।
काभ्रेको मण्डनपुर नगरपालिका २ नगरकोट हाइटमा निर्माण भइरहेको रिसोर्टमा पाँच वटा भवन छ। तीमध्ये एक वटा भवनमा लबी, रिसेप्सन, बैंक्विट हल र रेष्टुरेन्ट निर्माण गरिएको छ। पाँच तारे स्तरको लक्जरी रिसोर्टमा मल्टी कुजिन रेष्टुरेन्ट एण्ड बार, बैंक्विट हल, हिटेड स्विमिङ पुल र हेल्थ क्लबको सुविधा रहेको छ।
२०७४ सालमा भंगेरी दरबार व्यवसायी किशोरराज पाण्डेसँग चौधरी ग्रुपले खरिद गरेको थियो। रिसोर्टको पुनः निर्माण गरेर लक्जरी रिसोर्ट बनाउन चौधरी ग्रुपले २०७६ बाटै सुरु गरेको थियो। तर, कोभिड‑१९ र आर्थिक संकटको कारण लम्बिँदै गएको चौधरी ग्रुपले जनाएको छ।
अरुण चौधरी अध्यक्ष रहेको सिजी होल्डिङ्सले नगरकोटसहित विभिन्न ठाउँमा होटल तथा रिसोर्ट निर्माण गरिरहेको छ। हाल सिजी होल्डिङ्समार्फत बूढानीलकण्ठमा मिराकी, चितवनमा टाइगरल्याण्ड सफारी रिसोर्ट सञ्चालन गरिरहेको छ। यस्तै कुपन्डोलमा पाँच तारे होटल लेमन ट्री सञ्चालनको तयारीमा रहेको छ।