काठमाडौं। ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ। संघीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुरका विभिन्न स्थानमा खानेपानी पुर्याउन बोलपत्रसहितको प्रक्रिया सुरु गरेको हो।
यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन। खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौं उपत्यका खानेपानीले ललितपुरका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यका खानेपानीद्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगर–१८, मगरगाउँ, ललितपुर महानगर–१४, बूढामार्ग, ललितपुर महानगर–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगर–१७, बाफल, ललितपुर महानगर–२६, चोखेल, ललितपुर महानगर–१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगर–८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौं उपत्यका खानेपानी बताएको छ।
योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ।
परियोजनाले विशेषतः सहरी र अर्ध–सहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।