काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा कुरा नमिल्दा प्रभु बैंक र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकबीचको मर्जर रोकिएको छ ।
यसैगरी एनसीसीका ६ जना उच्च तहका कर्मचारी व्यवस्थापनमा पनि कुरा मिल्न नसक्दा मर्जरमा जान सहमति हुन नसकेको हो । एनसीसीले समान हैसियतमा मर्जरमा जाने प्रस्ताव प्रभुलाई गरेको छ ।
प्रभुले १००ः९० अनुपातमा जाने प्रस्ताव गरेको छ । स्वाप रेसियोमा कुरा मिल्न बाँकी रहेको एनसीसी स्रोतले बतायो । दुई बैंकबीच मर्जरको कुरा भएकाले सहमति हुन केही समय लाग्ने स्रोतको भनाई छ । मर्जरमा जाने प्रक्रिया धेरै अघि बढेको स्रोतले जानकारी दियो ।
एनसीसीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पछि ३ जना डेपुटी सीईओ, २ उपमहाप्रवन्धक र १ जना सहायक महाप्रवन्धक छन । यस्तै प्रभुमा सीईओपछि चिफ विजनेस अफिसर पद भएकाले एनसीसीका ६ जना उच्च अधिकारीलाई समायोजन गर्न समस्या देखिएको छ ।
यद्यपी दुई बैंकबीच मर्जरमा जानका लागि वार्ता भइरहेको स्रोतको भनाई छ ।अधिकाँश विषयमा कुरा मिलिसके पनि स्वाप रेसियो र एनसीसीको उच्च तहका कर्मचारी व्यवस्थापनमा सहमति हुन बाँकी छ ।
मर्जरपछि एकिृकत बैंकको नामा प्रभु हुने, अध्यक्ष देविप्रकाश भट्टचन र सीईओ अशोक शेरचन हुने सहमति भएको छ ।
प्रभु र एनसीसी दुबै बैंकले मर्जरमा जानका लागि साधारणसभाबाट प्रस्ताव पारित गरिसकेका छन ।
प्रभुले बैंक तथा वित्तीय संस्थालाई प्राप्ति र एनसीसीले मर्जरमा जाने जानकारी गराएको थियो । प्रभुले किस्ट बैंक र ग्राण्ड बैंकलाई समाहित गरेको छ । प्रभुले समाहित गरेका यी दुबै वाणिज्य बैंक हुन ।
यस्तै एनसीसीले इन्टरनेसनल डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलगायत ४ ओटा विकास बैंकलाई प्राप्ति गरिसकेको छ । प्रभुको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख छ । प्रभुको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुगेको छ ।
प्रभुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ६२ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको छ । प्रभुको सञ्चित कोषमा ४ अर्ब ३९ करोड २१ लाख रुपैयाँ छ ।
यस्तै एनसीसीको पुँजी ९ अर्ब ३२ रुपैयाँ पुगेको छ । शुक्रबार बसेको एनसीसीको साधारणसभाले १५ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एनसीसीले ३४ करोड रुपैयाँ खुदनाफा गरेको छ । एनसीसीको सञ्चित कोषको आकार २ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ छ ।