काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंकले साँढे ३ अर्ब रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ । बैंकले ७७ मेगावाट क्षमताका २ जलविद्युत आयोजनामा ३ अर्ब र ५० करोड रुपैयाँको ऋण खरिद गरेको छ ।
बैंकबाट ऋण खरिदवापत इन्फास्ट्रक्चरले ५० करोड रुपैयाँ लगानी गरिसकेको छ । अन्य दुई आयोजनामा बैंकले वाणिज्य बैंकहरुसंगको सहवित्तीयकरणमा सो रकम कर्जा प्रवाह गर्न लागेको हो ।
बैंकले ४५ मेगावाटको मिडिल मेवामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । यो आयोजना हिमालयन बैंकको अगुवाइमा ऋण लगानी हुने छ ।
यस्तै बैंक आफनो अगुवाइमा बैंकले ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ ।
धेरै जलविद्युत आयोजनाहरुले ऋणका लागि बैकमा आवेदन दिएको र ती आयोजनाहरुको अध्ययन भइरहेको बैंकका डेपुटी सीईओ भुपेन्द्रराज पाण्डेले बताए ।
ठुला पूर्वाधारमा लगानी जुटाउन बैंकले विदेशमा ऋणपत्र (अफसोर बण्ड) निष्कासन गर्ने भएको छ । पहिलो चरणमा ५ अर्ब रुपैयाँ लगानी जुटाउन बैंकले विदेशमा ऋणपत्र निष्कासन गर्न लागेको हो । अफसोर बण्ड निष्कासन गर्न बैंकले नेपाल राष्ट्र बैंकसंग अनुमति मागेको छ ।
बैंकले सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका आयोजनाहरुको पहिचान र आवश्यक अध्ययन गरिरहेको छ ।
बैंकसंग हाल १२ अर्ब रुपैयाँ पुँजी रहेको छ । निकट भविष्यमा ८ अर्ब रुपैयाँ प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर पुँजी २० अर्ब रुपैयाँ पुर्याउदै छ । चालु आर्थिक वर्षभित्र आईपीओ निष्कासन गर्ने बैंकले जानकारी दिएको छ ।
बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ४० करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आफुसंग भएको पुँजी बैंकहरुमा राखेर प्राप्त ब्याजबाट सो नाफा देखाएको हो । बैंकले ६१ करोड ७१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ ।