काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि ऋण लगानी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आयोजना निर्माणका लागि नेपाल र भारतीय ५ ओटा बैंक र विकासकर्ता एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो ।

भारतीय बैंकहरू स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय आयात निर्यात बैंक (एक्जिम) ले ८५ अर्ब ९७ करोड ८८ लाख रूपैयाँ ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब २५ अर्ब रूपैयाँ स्वपूँजीका रूपमा लगानी गरेको छ । सो लगानीमा हाल आयोजनाको काम भइरहेको छ ।

कम्पनीका अध्यक्ष एलएन शर्मा र लगानी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधीबीच हस्ताक्षर भएको हो । ऋण लगानी सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले ऊर्जा क्षेत्रको विकासमा वैदेशिक लगानी महत्वपूर्ण रहेको बताए ।
ऊर्जामन्त्री बर्षमान पुनले अरुण तेस्रो जलविद्युत् आयोजनाले सरकारले दशबर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुने बताए । यो सँगै सवै बैंकहरुले झण्डै १ खर्ब ऋण लगानी गर्ने भएका छन । भारतीय ५ बैंकहरुले ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्नेछन । स्वपुँजी (इक्विटी) का रुपमा एसजेवीएनले २५ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैंकहरुले ऋण लगानी गर्ने छन । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैंकसँग ऋण सम्झौता भइसकेको छ ।
सस्तो लागतको आयोजना
कम्पनीले आयोजना सस्तो लागतको बन्ने अनुमान गरेको छ । कम्पनीका अध्यक्ष एनएल शर्माले आयोजना प्रतिमेगावाट साढे १२ करोडमा निर्माण हुने बताए । हालको अवस्थामा यो लागत धेरै सस्तो हो । नेपाली लगानीकर्ताले प्रतिमेगावाट १८ करोडदेखि २० करोड रुपैयाँमा आयोजना बनाइरहेका छन । आयोजना निर्माण भएपछि नेपालको प्रतिव्यक्ति विद्युत् खपत क्षमता बढ्ने र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने शर्माको तर्क छ ।