काठमाडौं। अर्थ मन्त्रालयअन्तर्गत निवृत्तभरण व्यवस्थापन कार्यालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ सार्वजनिक गरेको छ। जसमा आगामी दिनमा निवृत्तभरणसम्बन्धी नयाँ नीति कायम भएको जनाएको छ।
जसअनुसार किताबखानाबाट जारी भएको अधिकार पत्रबमोजिम निवृत्तभरकले इच्छाएको बैंकमा निवृत्तभरण भुक्तानी खाता खोलेर निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले बैंकलाई लेखेर पठाउनुपर्ने हुन्छ। यसका लागि शून्य ब्यालेन्समा निवृत्तभरण भुक्तानीका लागि बैंक खाता खोल्न सकिने जनाएको छ।
यस्तै, कार्यविधिको उपदफा (१) बमोजिम खाता खोल्न बैंकले राष्ट्रिय परिचय पत्र नम्बर र अन्य आवश्यक कागजात देखाउनुपर्ने उल्लेख गरेको छ। तर, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा नब्बे वर्षमाथिका जेष्ठ नागरिकको हकमा सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट सिफारिस भए पुग्ने व्यवस्था गरेको छ।
यसैगरी, पारिवारिक निवृत्तभरकको नाममा खाता खोल्न अनुरोध गरी पठाउँदा निवृत्तभरकको नाममा रहेको साविकको बैंक खाता बन्द गर्नुपर्ने छ। यस्तो खाताबाट रकम झिक्नबाहेक अन्य कुनै कारोबार गर्न नपाइने उल्लेख गरिएको छ।
निवृत्तभरण भुक्तानी खाता निवृत्तभरकको हकमा एक वर्षसम्म र पारिवारिक निवृत्तभरकको हकमा छ महिनासम्म सक्रिय हुनेछ। यस्ता खातालाई पुन: सञ्चालन गर्नका लागि निवृत्तभरक स्वयं सम्बन्धित बैंकमा उपस्थित भई बाँकी समयमा भर्चुअल रुपमा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। विदेशस्थित कुनै नेपाली नियोगमा निवृत्तभरण भुक्तानी खाता नवीकरणको सिफारिसको लागि निवेदन दिनुपर्ने छ।
निवृत्तभरकको रकम भुक्तानी प्रचलित कानुनबमोजिम थप हुने रकमसमेत हरेक महिनाको तेस्रो हसासम्म भुक्तानी खातामा रकम जम्मा गरिदिनुपर्ने छ। निवृत्तभरण व्यवस्थापन कार्यालयले माग गरेमा बैंकले निवृत्तभरण भुक्तानी खाताको स्टेटमेन्ट वा स्टेटमेन्ट हेर्न सक्ने गरी प्रणालीमा पहुँच दिनुपर्ने जनाएको छ।