काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणधिन अरुण तेस्रो आयोजनाबाट नेपालले १९७ मेगावाटसम्म निःशुल्क बिजुली पाउने बताएका छन ।
यो परिमाण बिजुली उत्पादनका लागि राज्यले झण्डै ४० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने उनले जानकारी दिए । अरुण तेस्रो आयोजनामा ऋण लगानी सम्झौता समारोहलाई सम्बोधन गर्दै उनले ३० वर्षपछिको सपना साकार भएको बताए ।
‘कहिलेकाँही ढिलाइ हुँदा पनि राम्रो हुँदो रहेछ । आयोजना ९०० मेगावाट बिजुली उत्पादन हुने भएको छ । यसअघि ४०२ मेगावाटमा डिजाइन गरिएको थियो’ उनले भने ।
अरुणको बिजुलीले आन्तरिकका साथै वाह्य बजारको बाटो खुला गरेको अर्थमन्त्री खतिवडाको भनाई थियो । नेपाल र भारतका ७ ओटा बैंकहरुले सयुक्त लगानी गरेर विश्वसामु सकरात्मक सन्देश दिएको उनको भनाई थियो ।
उनले नेपाल लगानीका लागि उत्तम स्थल भएको प्रष्टपारे । उनले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना पनि यही खाकामा निर्माण हुने अर्थमन्त्रीले जानकारी दिए । नेपाल पावर हाउस भएको उनले बताए ।
सन २००८ मा प्रतिस्पर्धाबाट सतलज जलविद्युत निगम लिमिटेडले अरुण तेस्रो आयोजना प्राप्त गरेको हो । सतलजले २१.९ प्रतिशत निःशुल्क बिजुली दिने प्रस्ताव गरेपछि आयोजना पाएको हो ।
अरुण तेस्रोमा नेपालका नविल बैंक, एभरेष्ट बैंकले १४ अर्ब ४० करोड रुपैयाँ अर्थात ९ अर्ब भारु ऋण लगानी गर्नेछन । भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया, केनेरा बैंक र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने छन ।
भारतीय ५ बैंकहरुले ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्ने छन । स्वपुँजीका रुपमा एसजेवीएनले २५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ ।
हालसम्म आयोजनाको ३० प्रतिशत काम सकिएको छ । प्रर्वद्र्धक एसजेबीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।