काठमाडौं । खराब कर्जा बढेपछि नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकक नाफा १५.६६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा नेपाल इन्भेस्टमेन्टको नाफा ३० करोड ९४ लाख रुपैयाँ घटेको शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।सो नाफाबाट बैंकले सेयरधनीलाई ८४ करोड ३४ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने देखिएको छ ।
खराब कर्जा बढेपछि बैंकले ६ महिनामा ५५ करोड ९० लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । बैंकको खराब कर्जा बढेर २.९० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ प्रतिशत थियो ।
बैंकको सञ्चित कोष पनि घटेको छ । पुससम्म बैंकको सञ्चित कोषमा १० अर्ब १० करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको सञ्चित कोषमा १० अर्ब ५३ करोड रुपैयाँ थियो ।
व्यापारी आरके अग्रवाल, श्याम मल र इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमएसी) लाई दिएको ऋण तथा बैंक ग्यारेन्टी नउठेपछि खराब कर्जाको अंश बढेको हो । राष्ट्र बैंकले ती कर्जाका फाइलमाथि अध्ययन सुरु गरेको छ ।
विदेशबाट आयात गरेर स्वदेशी सिमेन्ट तथा स्टिल उद्योगलाई कोइला आपूर्ति गर्ने भन्दै बैंकले व्यापारी मललाई सवा अर्ब रुपैयाँ भन्दा बढी ऋण दिएको थियो ।
त्यसैगरी, अन्नपूर्ण सुगर मिलका सञ्चालक आरके अग्रवाललाई पनि व्यवस्थापनले बिना धितो सवा अर्ब रुपैयाँ भन्दा बढी ऋण दिएको देखिएको छ । यी व्यवसायीबाट बैंकले साढे ४ अर्ब रुपैयाँ कर्जा असुली गर्न बाँकी छ ।
बैंकले इटालीको स्थानीय अदालत कोर्ट अफ बलोनाबाट मुद्धा हारिसकेको छ । बैंकले सीएमसीको जमानत बसेको करिव १ अर्ब ९५ करोड रुपैयाँ नआउने निश्चित भएको छ । यसले बैंकको नाफामा असर गर्दै आएको छ ।
व्यापारी श्याम मललाई बिना धितो अर्बौ रुपैयाँ दिएको ऋण पनि डुबेको छ । उनी नेपालबाट भागिसकेका छन । उनले बिना धितो ऋण लिएर नेपालबाट भागेका हुन ।