काठमाडौं । सेवा शुल्कका नाममा बर्षौदेखि ठगी गर्दै आएका शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी)माथि वैदशिक रोजगार विभागले अनुगमन गर्ने तयारी गरेको छ ।
सिन्डिकेट लादेर विद्यार्थीमाथि मनलाग्दी रुपमा शुल्क लिएको गुनासो बढेपछि विभागले अन्तरमन्त्रालय समन्वय गरेर एजुकेसन कन्सल्टेन्सीमाथि अनुगमन गर्न लागेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
‘यो क्षेत्रमा व्यापक ब्रहमलुट छ भन्ने गुनासो आइरहेको छ,’ उनले भने, ‘तर, अहिलेसम्म कसैले नियमन गरेका छैनन्, ।’ एकातिर विद्यार्थीबाट मनलाग्दी रुपमा शुल्क लिने र करको दायमा पनि नआउने कन्सल्टेन्सीमाथि सरकार आक्रमक बन्न लागेको हो ।
अर्थमन्त्रालयले शैक्षिक परामर्श कम्पनीलाई करको दायमा ल्याउने प्रयत्न गरे पनि त्यो सम्भव भएको थिएन । विद्यार्थीबाट शुल्क लिने र राज्यलाई कुनै पनि कर नतिर्ने प्रवृत्ति मौलाउँदै सरकारी ठहर छ ।
अध्ययन र रोजगारीका नाममा विभिन्न देशमा महँगो शुल्कमा नेपाली विद्यार्थीलाई पठाइरहेको भन्दै उनले अनुगमनको तयारी भइरहेको बताए ।
उनले भने ‘वैदेशिक रोजगार विभागको मातहतमा कन्सल्टेन्सीहरु पर्दैनन् । तर, पनि त्यस्ता गुनासाहरु हामीसम्म आइपुगिरेहका छन् । अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत अन्तर मन्त्रालय समन्वय गरेर अनुगमन शुरु गर्छौ ।’
पछिल्लो समय कन्सल्टेन्सीमार्फत विदेश गएका धेरै नेपालीहरु अलपत्र परेको, दुख पाएका घटनाहरु सार्वजनिक भएपछि विभागले यस सम्बन्धी चासो देखाएको हो ।
अहिले अधिकाश कन्सल्टेन्सीले अध्ययनका नाममा विभिन्न देशमा रोजगारीका लागि लाखौ रुपैयाँ लिएर पठाइरहेको छ । यस सम्बन्धी सरकारले विषेश ध्यान नदिँदा हजारौं विद्यार्थीहरु मर्कामा परेको सरोकारवालाहरुको गुनासो छ ।
विभागका महानिर्देशक दाहालले धरौटी राखेर रोजगारीका लागि विदेश पठाउने मेनपावर कम्पनीको अनुगमन गरिरहँदा चर्को शुल्क लिएर विदेश पठाउने कन्सल्टेसीलाई पनि कानुनी दायरामा ल्याउन आपूm लागिरहेको जानकारी दिए ।