काठमाडौं । देशभित्र लगानीको वातावरण विग्रिँदै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्र मैत्री कानुन बनाउन सहयोग गर्ने बताएका छन् । उनले कस्तो कानुन बनाउँदा देशमा लगानी बढ्छ ? सोही अनुसार मस्यौदा बनाएर ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
देश आर्थिक समृद्धितर्फ अघि बढिरहेको अवस्थामा लगानी निरुत्साहित गर्ने कुनै कानुन भए, त्यसलाई खारेज गर्ने र निजी क्षेत्र खोजेको जस्तो कानुन सरकारले पास गर्ने उनको भनाई छ । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘देशको आर्थिक विकास गर्नु अहिलेको प्रमुख लक्ष्य भएको र त्यो निजी क्षेत्रबाट मात्रै पूरा हुन्छ ।’
लामो समयदेखि सरकारले प्रदान गर्ने सीआईपी अवार्ड कार्यक्रम हुन सकेको थिएन । अब प्रत्येक दुई वर्षमा यस्तो कार्यक्रम हुने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाए ।
‘व्यवसायीलाई हौसला र प्रोत्साहन गर्न सरकारले कुनै कसर बाँकी राख्दैन्,’ उनले भने, ‘देशमा लगानी गर्नुस्, नाफा कमाउनुस्, सरकारले यसैगरी प्रोत्साहन गर्दैै जान्छ ।’
सरकारले आयात/निर्यातमा देखिएका अबरोध हटाउँदै लगेको छ । अझै पनि केही अबरोध छन्, भने त्यसलाई समाधान गर्न सरकार तयार रहेको उनले बताए । ‘ढुवानीका सन्दर्भमा देखिएका अवरोध हटाएका छौं, पाम आयलमा देखिएको समस्या सुल्झाइसकेका छौं,’ ओलीले भने, ‘अझै पनि कँही कतै समस्या छन्, भने लिएर आउनुस्, सरकार समाधान गर्न तयार छ ।’
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सरकार सधैभरी उद्योगी व्यवसायीको साथमा रहेको बताए । ‘देशलाई समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अत्यन्तै ठूलो हुन्छ,’ उनले भने, ‘त्यस्ता महत्वपूर्ण व्यक्तिलाई राज्यले जहिले पनि सम्मान गर्छ ।’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सरकारले दिएको सीआईपी सम्मानले उद्योगी÷व्यवसायीको हौसला बढाएको बताइन् ।
‘लगानीकर्तालाई यसले थप प्रोत्साहित गर्छ,’ राणाले भनिन्, ‘थप लगानी गर्न र निर्यातलाई थप बढाउन सरकारले गरेको प्रयास उत्कृष्ट छ ।’ त्यसैगरी राणाले सरकारले निजी क्षेत्रलाई पनि प्रोटोकलमा राख्नुपर्ने बताइन् ।