काठमाडौं । जलविद्युतमा लगानी गर्न स्थापना भएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीए) को अर्बौ रुपैयाँ बैंकहरुको मुद्धति खातामा रहेको छ ।
विकासकर्ताहरुले जलविद्युतमा लगानी गर्ने पुँजी नभइरहेको बताइरहेका बेला एचआईडीसीएलले लगानी गर्न नपाएर वाणिज्य बैंकहरुको मुद्धति खातामा अर्बौ रुपैयाँ निक्षेप राखेर ब्याज आम्दानी गरिरहेको छ । मुद्धति निक्षेपबाट वर्षेनी करोडौं रुपमा ब्याज आम्दानी गरिरहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाशसम्म एचआईडीसीएलले १३ अर्ब ६८ करोड रुपैयाँ बढी रकम विभिन्न बैंकहरुमा मुद्धति निक्षेपका रुपमा राखेको छ । एचआईडीसीएलले लगानी गर्न नपाएर सो रकम बैंकमा राखेको जनाएको छ ।
निक्षेपबाट ६ महिनामा एचआईडीसीएलले ८५ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । मुद्धतिमा राखेको रकमबाट प्राप्त हुने ब्याजबाट एचआईडीसीएलले ६ महिनामा ५५ करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
समीक्षा अवधिमा एचआईडीसीएलले विभिन्न जलविद्युत आयोजनामा २ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ मात्र लगानी गरेको जानकारी दिएको छ । एचआईडीसीएलले विभिन्न बैंकहरुसंगको सहवित्तीयकरणमा मात्र सो रकम ऋण लगानी गरेको हो । यस्तै ८ करोड रुपैयाँ कर्पोरेट बण्डमा लगानी गरेको छ ।
एचआईडीसीएलले सरकारबाट पाएको साढे ५ अर्ब रुपैयाँ बैंकमा राखेको छ । सो रकम पछि सेयरपूँजीमा परिणत गर्ने तयारी एचआईडीसीएलको छ ।
चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुर्याउन एचआईडीसीएलले १०० प्रतिशत हकप्रद से्यर निष्कासन गर्न लागेको छ । उसले स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले एचआईडीसीएलमा थप लगानी नगर्ने जानकारी गराइसकेका छन ।
एचआईडीसीएलले ७६२ मेगावाटको तमोर जलासय र १५० मेगावाटको माडी आयोजना बनाउने तयारीमा जुटेको छ । उसले दुबै आयोजना पावर चाइनासंगको साझेदारीमा लगानी गर्ने तयारी गरेको छ ।