काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न ११ कम्पनीहरुले जलविद्युत आयोजना बनाउन लगानी जुटाएका छन । न्युनतम ५ देखि ९९.४ मेगावाट क्षमताका आयोजना बनाउन विकासकर्ताले लगानी जुटाएका हुन ।
३०९ मेगावाट क्षमताका ११ ओटा आयोजना बनाउन विभिन्न बैंकहरुले सहवित्तीयकरण मार्फत झण्डै ४८ अर्ब रुपैयाँ लगानी सम्झौता गरेका छन् । यी आयोजनामा हिमालयन बैंक, नेपाल बैंक, माछापुच्छे बैंक, प्राइम कमर्शियल बैंक, कुमारी बैंक र नेपाल इन्फास्ट्रक्चर बैंकले ऋण लगानी सम्झौता गरेका छन ।
जलविद्युत आयोजनाको जटिल काम लगानी जुटाउनु नै हो । लगानी जुटाएपछि आयोजनाको निर्माण प्रकृया सुरु हुन्छ । लगानी जुटाएकाले यी आयोजनाको काम अघि बढाउन बाटो खुला भएको छ । सबै आयोजना निजी लगानीमा निर्माण सुरु भएका हुन ।
यो अवधिमा ९९.४ मेगावाट क्षमताको लाप्चिखोला जलविद्युत आयोजना बनाउन नेपाल बैंकको अगुवाइमा १९ अर्ब ३८ करोड २५ लाख रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । लप्चिखोला आयोजना नासा हाइड्रोपावर प्राइभेट लिमिटेडले बनाउन लागेको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ६ मेगावाटको रेलखोला जलविद्यतमा हिमालयन बैंकको अगुवाइमा ८३ करोड २० लाख रुपैयाँ ऋण लगानी भएको छ । आयोजनाको लागत १ अर्ब १५ करोड ४५ लाख रुपैयाँ छ । लाप्चिखोलाको लागत २६ अर्ब २० करोड रुपैयाँ रहेकोमा नेपाल बैंकको अगुवाइमा १९ अर्ब ३८ करोड रुपैयाँ ऋण लगानी भएको छ ।
५ मेगावाटको बुकु काप्ति आयोजनामा प्राइम कमर्शियलको अगुवाइमा ६५ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । आयोजनाको अनुमानित लागत ९४ करोड ५० लाख रुपैयाँ छ ।
५.८ मेगावाटको माथिल्लो फावाखोला आयोजनामा माछापुच्छे बैंकको अगुवाइमा ८० करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । आयोजनाको लागत १ अर्ब २४ करोड रुपैयाँ छ ।
५७.५ मेगावाटको नुप्चेलिखु आयोजनामा माछापुच्छे बैंकको अगुवाइमा ७ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । आयोजनाको लाग १० अर्ब ५७ करोड रुपैयाँ छ ।
३५.५ मेगावाटको म्याग्दीखोला आयोजनामा कुमारी बैंकको अगुवाइमा ४ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । आयोजनाको लागत ६ अर्ब ५८ करोड रुपैयाँ छ ।
१२ मेगावाटको रुरु बञ्चुखोला आयोजनामा माछापुच्छेको अगुवाइमा १ अर्ब २६ करोड रुपैयाँ लगानी सम्झौता भएको छ । आयोजनाको कुल लागत २ अर्ब १० करोड रुपैयाँ छ । ण्
५० मेगावाटको मध्यमेवा आयोजना बनाउन हिमालयन बैंकको अगुवाइमा ७ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता भएको छ । आयोजनाको कुल लागत ९ अर्ब रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकले जलविद्युतलाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेर ऋण लगानी बढाउन जोड दिंदै आएको छ । पर्यटन, जलविद्युत र साना उद्योगमा गरी १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने व्यवस्था छ ।
