काठमाडौं । बिक्री नहुने अवस्था आएपछि विद्युत नियमन आयोगले नयाँ जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर (आईपीओ) निष्कासन रोकेको छ ।
जलविद्युत कम्पनीहरु आर्थिक संकटमा आउँदा दोस्रो बजारमा सेयर मूल्य घट्दा नयाँ कम्पनीहरुको आईपीओ बिक्री नहुने अवस्था देखेपछि आयोगले हाललाई आईपीओ अनुमति रोकेको हो । आयोगले आयोजनाको वित्तीय एवम प्राविधक पक्षको विश्लेषण गरेर मात्र आईपीओ निष्कासन गर्न अनुमति दिने भएको छ ।
जलविद्युत आयोजनामा समस्या आएपछि अघोषित रुपमा अनुमति रोकेको आयोगका सदस्य तथा प्रवत्ता रामप्रसाद धितालले बताए । उनले औपचारिक रुपमा रोकेको जानकारी नदिए पनि आयोजनाको आर्थिक तथा प्राविधिक पक्षको विश्लेषण गरेर मात्र आईपीओ निष्कासन गर्न दिने स्पष्टपारे ।
नेपाल धितोपत्र बोर्डसंग थप छलफल आवश्यक भएको भन्दै आयोगले नयाँ कम्पनीको आईपीओ निष्कासन रोकेको हो । आयोगले सहमति दिएपछि मात्र नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिन पाइन्छ ।
आयोगमा हाल ३ ओटा कम्पनीले मात्र आईपीओ निष्कासन गर्न अनुमति मागेका छन । बिक्री नहुने अवस्था आएपछि कम्पनीहरुले आवेदन दिएका छैन । यद्यपी धितोत्रप बोर्डमा एक दर्जन जलविद्यत कम्पनीले आईपीओका लागि अनुमति मागेका छन । आयोगको स्वीकृति विना कम्पनीहरुले आईपीओ निष्कासन गर्न पाउँदैनन ।
आयोगले बोर्डसंग छलफल गरेर मात्र निष्कासन गर्न अनुमति दिने भएको छ । नयाँ कम्पनीहरुको आईपीओ नै बिक्री नहुने जोखिम बढेपछि विद्युत नियमन आयोगले रोकेको हो । दोस्रो बजारमा अधिकाँश जलविद्युत कम्पनीको सेयर अंकित मूल्य १०० रुपैयाँ भन्दा कममा कारोबार भइरहेको छ ।
सोही कारण आयोगले नियामक नेपाल धितोपत्र बोर्डसंग छलफल गर्ने भएको हो । सरकारले आगामी दिनमा ल्याउने जनताको जलविद्युत आयोजनाका आईपीओ समेत बिक्री नहुने जोखिम बढेको बुझाइ आयोगको छ ।
पछिल्लो समयमा जलविद्युत कम्पनीहरुले आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएका छैनन । चालु आर्थिक वर्ष सुरु भएयता शिवश्री हाइड्रोपावर लिमिटेडको मात्र आईपीओ बजारमा आएको छ । शिवश्रीले ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । त्यसपछि एउटा पनि आईपीओ आएको छैन ।
जलविद्युत आयोजनाको सेयर प्रत्याभूतिकर्ता (अण्डरराइटर) हरुले नसकार्ने प्रवृत्ति देखिएकाले झन समस्या आउने देखिएको आयोगको भनाई छ । आयोजना प्रभावित स्थानीयबासिन्दालाई छुट्टाइएको आईपीओ नै बिक्री हुन छाडेको छ ।
गत आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डले २८ ओटा कम्पनीलाई ७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको ७ करोड ३४ लाख ६६ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । राम्रा कम्पनीको सेयर मूल्य माथि नै छ ।
याे पनि पढ्नुहाेस्
जलविद्युत आयोजनाको आईपीओ नबिक्ने जोखिम, विद्युत नियमन आयोगले थाल्यो पहल