काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने हल्ला चलेपछि साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । उछाल आउँदा सेयर बजार ६९.५६ अंकले बढेको छ । आइतबार नेप्से परिसुचक बढेर १ हजार ५०४ अंकमा पुगेको छ ।
२५ महिनापछि बजार यो अंकमा आइपुगेको हो । बजार बढेपछि कारोबार रकम पनि उचाइमा पुगेको छ । आइतबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर किनबेच भएको छ । 
आइतबार एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनएमबीको प्रतिकित्ता ४५४ मा १२ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार २९० रुपैयाँमा ११ करोड ८२ लाख र शिखर इन्स्योरेन्स कम्पनीको १ हजार ३४७ रुपैयाँमा १० करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
जीवन बीमाको १९२, निर्जीवन बीमाको १३९, विकास बैंकको ८४, वाणिज्य बैंकको ८६ अंकले बजार बढेको छ । नेप्से परिसुचकमा हरियाली देखिएको छ ।
बजार बढ्दा फस्र्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघुवित्त, कालिका माइक्रोक्रेडिट, मेगा बैंक, आरएसडी लघुवित्त, एभरेष्ट बैक, एसबीआई बैंक र साल्ट ट्रेडिङका लगानीकर्ताले कमाएका छन ।
राष्ट्रिय सभाका सदस्यका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतम मनोनित हुने भई वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको हट्ने हल्ला चलेपछि लगानीकर्ता हौसिएका लगानीकर्ता प्रकाश तिवारी बताउँछन । क्यापिटल नेपालसंग कुरा गर्दै तिवारीले पछिल्लो समयमा लगानीकर्ताको विश्वास बढेको जानकारी दिए ।
यस्तै मौद्रिक नीतिको मध्यावधि समीक्षामा बैंकको स्प्रेडदरमा पनि पुनरावलोकन हुने अनुमान लगानीकर्तामा देखिएको उनको बुझाइ छ । लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई सेयरबजार विरोधीका रुपमा चित्रण गर्दै आएका छन ।
आइतबार बजारमा उछाल आउँदा ७५ अंकसम्म पुगेको थियो । विस्तारै घटेर ६९ अंकमा आएर रोकिएको छ । बैंकहरुले पछिल्लो समयमा सेयर बजारमा लगानी बढाएका छन ।

यता ब्याजदर पनि कम हुँदै गएको छ । नागरिक लगानी कोषले ठुलो परिमाणमा सेयर किनबेच गर्न नागरिक स्टक डिलर कम्पनी लिमिटेडको गठनले पनि बजारमा सकरात्मक प्रभाव परेको लगानीकर्ताको भनाई छ ।
बिहीबार सेयर बजार २९.३२ अंक बढ्दा २ अर्ब २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । सेयर बजार बढेर १ हजार ४३४.५७ अंकमा पुगेको थियो ।
बजार अब बढ्ने साइकलतर्फ आएको सेयर लगानीकर्ता तिवारी बताउँछन । पछिल्लो ३ वर्ष लगातार घट्दै आएको बजार अब विस्तारै पहिलाको अवस्थामा आउने देखिएको उनको भनाई छ ।