काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट निर्यात हुने वस्तु तथा सेवा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको हो।
राष्ट्र बैंकले यो अवधिमा एक खर्ब ५८ अर्ब १७ करोड बराबरको वस्तु तथा सेवा निर्यात भएको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४ प्रतिशत कमी थियो।
नेपालबाट सबैभन्दा बढी सामान निर्यात हुनेमा भारत र चीन रहेका छन्। यी देशमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँचीलगायतका वस्तु रहेको छ। पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुशलगायतका वस्तुको निर्यात घटेको छ।
यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा ११ खर्ब ४५ अर्ब ५७ करोड बराबरको वस्तु तथा सेवा आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ११.२ प्रतिशतले बढी हो।
आयात हुने वस्तुमा भारत, चीन र अन्य मुलुक रहेका छन्। वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पञ्ज आइरन्लगायतका वस्तु रहेका छन्।
तर पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मललगायतका वस्तुको आयात घटेको छ।