काठमाडौं। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको नौ महिनामा १८ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्।
उक्त अवधिमा सबैभन्दा धेरै चिया ८ अर्ब ४१ करोड ८९ लाख रुपैयाँ, अलैँची ५ अर्ब ६३ करोड २० लाख रुपैयाँ, प्लाइ तथा भेनियर २ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा २७ करोड २१ लाख रुपैयाँ, अम्लिसो ८७ करोड २१ लाख रुपैयाँ, बन्दा आठ करोड १७ लाख रुपैयाँ, जडिबुटी चार करोड ५८ लाख रुपैयाँ, मसुरो दाल चार करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधीमा पूर्वीनाकाबाट २ अर्ब ७० करोड ६८ लाख २६ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ।
आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफुल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन्।
क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १४ करोड ४५ लाख ७६ हजार रुपैयाँ, चामल ६ करोड एक लाख रुपैयाँ, ताजा तरकारी ३४ करोड चार लाख रुपैयाँ बराबरको आयात भएको छ।
यसैगरी ताजा फलफुल ३१ करोड ८० लाख रुपैयाँ, लसुन ६३ करोड ८० लाख रुपैयाँ, आलु ३६ करोड ४९ लाख रुपैयाँ बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ।