काठमाडौं। माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा उल्लेखनीय नाफा कमाएको छ। यो अवधिमा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी नाफा गरेको हो।
बैंकले आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा कुल १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिभन्दा २५ प्रतिशतले बढी हो।
गत वर्षको नौ महिनामा बैंकले ८५ करोड २६ लाख नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन, कर्जा प्रवाहजस्ता प्रमुख सूचकमा मजबुत सुधार देखिए पनि निष्क्रिय कर्जा अनुपात (एनपीएल) भने बढेको देखिन्छ।
व्यवसायिक विस्तारले बैंकको आम्दानीमा सकारात्मक प्रभाव परेको देखिन्छ। अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी ४० करोडले वृद्धि भई ३ अर्ब ८५ करोडबाट ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिसन आम्दानीमा पनि उलेख्य वृद्धि देखिएको छ।
निक्षेप तथा कर्जामा समेत सन्तुलित विस्तार भएको छ। बैंकले एक वर्षको अवधिमा निक्षेप ११ अर्बले बढाउँदै कुल १ खर्ब ६९ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ। कर्जा प्रवाह १४ अर्बले विस्तार गर्दै १ खर्ब ४० अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ।
बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १२.६५ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको ९.८१ रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। बैंकको प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको एक मात्र चुनौती भनेको निष्क्रिय कर्जा अनुपातमा आएको वृद्धि हो। गत वर्षको चैत मसान्तमा ३.६८ प्रतिशत रहेको एनपीएल चालु वर्षको सोही अवधिमा ४.५९ प्रतिशत पुगेको छ। जसले जोखिम सूचकमा केही दबाब देखाएको छ।
नाफा वृद्धि भए पनि वितरण योग्य नाफा भने वक्यौता ब्याज र गैरबैंकिङ सम्पत्तिका कारण सीमित बनेको छ। चैत मसान्तसम्मको विवरण अनुसार, बैंकसँग ७ करोड ७ लाख रुपैयाँ वितरणयोग्य नाफा मात्रै बाँकी छ।
जस कारण बैंकले ०.३६ प्रतिशत मात्र लाभांश दिनसक्ने देखिएको छ। तर, अघिल्लो वर्षको यही अवधिमा बैंकले लाभांश दिनसक्ने स्थितिसमेत बनाएको थिएन।