काठमाडौं। शुक्लागण्डकी नगरपालिकामा तोकिएको म्यादअगावै कल्भर्ट निर्माण सम्पन्न भएको छ। शुक्लागण्डकी ८ र १० जोड्ने मान्द्रे खोलामाथि दुई महिनाअगावै कुखुरे कटहरे कल्भर्ट निर्माण भएको हो। उक्त कल्भर्टको शनिबार उद्घाटन गरिएको छ।
नगरको आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरिएको हो। कल्भर्ट निर्माणका लागि गत मंसिर १० गते विं.सं. २०८२ असार १५ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
नगरले कल्भर्ट निर्माणका लागि २५ लाख बजेट विनियोजन गरे पनि २२ लाख १० हजार २५० मा ठेक्का सम्झौता भई कल्भर्ट निर्माण भएको शुक्लागण्डकी १० का वडाध्यक्ष राजेन्द्र भट्टराईले जानकारी दिए। कल्भर्टको लम्बाइ २० मिटर रहेको छ।
कल्भर्ट निर्माणपछि शुक्लागण्डकी–१० स्थित कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मीनामखानीका सर्वसाधारणलाई आवागमन सहज भएको उनले विश्वास व्यक्त गरे।
उनले भने, ‘यहाँ वर्षाका बेला खोला बढेर वारपार गर्न निकै समस्या थियो। सोही कारण पालिकाले आन्तरिक बजेटबाट कल्भर्ट निर्माण गरी आवतजावत सहज बनाएको हो।’
बर्सेनि बढेर आउने बाढीका कारण खोला तरेर विद्यालय जान नपाएका विद्यार्थी र बिरामी हुँदासमेत जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या समाधान भएको स्थानीय दीपबहादुर नेपालीले बताए। उनले भने, ‘खोला बढ्दा पनि सहज रूपमा विद्यालय, अस्पताललगायत काममा जान सकिन्छ।’
नेपालीले वडा र नगरपालिकाका कर्मचारीलाई कल्भर्ट नहुँदा स्थानीयले भोगेका समस्याबारे बारम्बार जानकारी गराएपछि समाधान भएको उल्लेख गरे।
कल्भर्टको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले जनताका हरेक समस्या समाधान गर्ने जिम्मेवारी आफूहरूको रहेको बताए।