काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सुक्खा मौसम एवं भारतबाट मागेजति बिजुली नआउँदा विद्युत् व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा भइरहेको आंशिक लोड हटाउन माग र आपूर्ति व्यवस्थापनमा अधिकतम प्रयास भइरहेको सूचना जारी गरेको छ।
औद्योगिक क्षेत्रमा विद्युत् अनियमित हुँदा उत्पादन प्रभावित भइरहेको उद्योगी, व्यवसायीले गुनासो गर्दै आए पनि प्राधिकरण व्यवस्थापनले लोडसेडिङ नगरिएको दाबी गर्दै आएको थियो।
उद्योगी, व्यवसायीले प्राधिकरण नेतृत्वलाई भेटेरै औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ हटाउन माग गरिरहेका बेला प्राधिकरणले आंशिक लोड दिइँदै आएको र त्यसलाई व्यवस्थापन गर्ने काम जारी रहेको स्वीकारेको हो।
नेपालका नदीनालामा बहाव छिट्टै बढ्ने एवं भारतबाट पनि विद्युत् आपूर्ति बढ्ने अवस्था रहेकाले हाल औद्योगिक क्षेत्रमा देखिएको समस्या छिट्टै समाधान हुने दाबी प्राधिकरणले गरेको हो।
आज प्राधिकरले विद्युत् व्यवस्थापन अवस्थाबारे सार्वजनिक सूचना जारी गरेको हो।
नेपालको वर्तमान ऊर्जा अवस्था र विद्युत् व्यवस्थापन सार्वजनिक चासोको विषय भएकोले जानकारी सार्वजनिक गरिएको प्राधिकरणले प्रस्ट्याएको छ।
सुक्खा मौसममा नदीनालाको बहाव कम भएकाले जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको प्राधिकरणको सूचनामा उल्लेख छ।

हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समय अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ। नपुग विद्युत् भारतबाट आयात गरी आपूर्ति गरिँदै आएको प्राधिकरणले जनाएको छ।
गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक बढेको विद्युत् मागका कारण नेपालले चाहेजति विद्युत् किन्न नपाएको भनिएको छ।
नेपालले छिमेकी भारतबाट पावर एक्सचेन्ज कमिटी–पीईसीमार्फत बेलुका १८ देखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकत ३५० मेगावाट विद्युत् आपूर्ति अनुमति पाएकामा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ देखि ६ र बेलुका १८ देखि १९ बजे गरी जम्मा ५० मेवा मात्र विद्युत् आपूर्ति भइरहेको छ।
भारतमा आईपीएल जारी रहँदा माग बढेकोले आईईएक्सको दररेट पीईसीको दररेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दासमेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरणले बताएको छ।
आईईएक्समार्फत बिहान ६ देखि बेलुका १७ बजेसम्म र राती २३ देखि बिहान ४ बजेसम्म विद्युत खरिद गरिँदै आएकोमा २३ देखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मुल्यमा बोलकबोल गरी खरिद गर्न खोज्दासमेत नेपाललाई पनि प्रो–राता आधारमा सप्लाइ दिइने गरेकोले मागको तुलनामा अत्यन्तै कम मात्र विद्युत् प्राप्त हुन सकेको सूचनामा उल्लेख छ।