काठमाडौं। पोखरा महानगरको काँहुडाडा, कृष्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखानलगायत क्षेत्रका बासिन्दालाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहद भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजना अन्तरगत काँहु धरहरा खानेपानी आयोजना पोखरा ११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको हो।
नगर प्रमुख धनराज आचार्य र सिनियर डिभिजनल इन्जिनियर कुल प्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु. आयोजना प्रमुख पदम बहादुर कुँवर क्षेत्री, पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षले हस्ताक्षर गरेका छन्।
बृहद भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपैयाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ५० लाख स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको छ।
यस्तै काँहु धरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाखमध्ये २१ करोड ६ लाख र मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाखमध्ये १९ करोड ७६ लाख अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ। समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आ.वमा पोखरा महानगरले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ।
तीन वटै परियोजनाको कुल लागत एक अर्ब २९ करोड ४९ लाख लाग्ने अनुमान गरिएको छ। परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय-खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ।
बृहद भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी संकलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किमी पाइपमार्फत उपोक्ताहरूको घरघरमा पानी पुर्याइने छ। यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताए। यस आयोजनामा २००, १००, ७५, ५० र २० घन मिटरका ११ वटा पानी ट्यांकीहरू निर्माण हुने छन्।
यस्तै, काँहु धरहरा खानेपानी आयोजनाअन्तर्गत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइप लाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने छ। करिब १५ सय घरधुरी लाभान्वित हुने यो आयोजनाअन्तर्गत ३ सय घनमिटर एक र १ सय घनमिटरका २ वटा ट्यांकीहरू निर्माण गरिने छ।

मट्टीखान खानेपानी योजनाअन्तर्गत सेती खोलाबाट शम्पवेलमार्फत पानी पम्पिङ् गरी फेदिखोला गाउँपालिकाको नुवाकोटमा पानी संकलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ। ३५ किमी पानीको पाइपलाइन विस्तार हुनेछ। विभिन्न स्थानमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्यांकीहरूमार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्ने छ।
चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फाल्गुन ८ गते सार्वजनिक टेन्डरसमेत आह्वान गरिसकेको छ। आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाई रहेको यी आयोजना सम्पन्न भएपछि पाँच हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने छन्। आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यी आयोजनाहरू एक घर एक धाराको अवधारणामा सञ्चालन हुने छन्।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको बताए। नगर क्षेत्रमा संघ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजना सञ्चालन गरी उपभोक्तालाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको उनले बताए।
'पोखरा महानगरको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेगहरू छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिहरेका बेला पछिल्लो पटक निकै ठूलो मिहिनेतका साथ हामी यी आयोजना सञ्चालन गर्ने क्रममा आइपुगेका छौँ,' उनले भने, 'ठूला लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरले लिनु पर्दछ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धतासहित अग्रसरता लिएका छौँ।'
उनका अनुसार जी टु जी अवधारणामा उपभोक्ताको तर्फबाट बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिता बापतको रकम महानगरले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको खातामा पठाइदिने छ।
पानीको महसुल बुझाउनसमेत मुस्किल पर्ने उपभोक्तालाई जनसहभागिता बापतको रकम महानगरले तिरिदिने भएपछि उपभोक्तामा उत्साह थपिएको समितिका अध्यक्षहरूले प्रतिक्रिया दिएका छन्। यसले आफूहरूलाई योजना सञ्चालनमा ठूलो राहत मिलेको अनुभूति भएको उनीहरूको भनाइ छ।
'पोखरा महानगरले असल अभिभावकत्वको आभास दिलाएको छ,' बृहद भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले भने, 'महानगरले जनताको दु:खमा सारथिको काम गरेको छ।'
यी आयोजना समयमा सम्पन्न गर्न उपभोक्ताहरूको तर्फबाट सबै प्रकारको सहयोग र समन्वय गर्ने उनीहरूले प्रतिबद्धता जाहेर गरेका छन्।