काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रका अनुसार गत शुक्रबार अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको हो । कुल १ अर्ब १२ करोड ६५ लाख ५५ हजार २६ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
जसमा ३० व्यक्ति र ११ संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउनुपर्ने सुझाव प्रहरीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने राय प्रहरीले दिएको छ । लामिछाने अहिले रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा छन्।
सोही सहकारीमा पुर्पक्षमा भैरहवा कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशीसँग भने ३ करोड २४ रुपैयाँ बिगो मागदाबी हुनुपर्ने प्रहरीको राय छ । सहकारी ठगी प्रकरणको मुख्य नाइके भनिएका फरार प्रतिवादी जीबी राईविरुद्ध भने १० करोड ८१ लाख बिगो मागदाबी हुनुपर्ने सुझाव प्रहरीको छ । थुनामै रहेका मेयर देवकुमार नेपालीसँग भने १५ करोड ५३ लाख रुपैयाँ बिगो मागदाबी हुनुपर्ने सुझाव प्रहरीको छ ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्नुपर्ने सुझाव प्रहरीको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा भने अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।
यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो ।
सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।
यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ ।
त्यस्तै, विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तीर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।