काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ। बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा अहिले विशेष समय सञ्चालन भइरहेको छ भने सदस्यहरूले बोल्ने क्रम जारी छ।
संसद् सचिवालयको इन्टरनेट सेवा प्राविधिक कारणले प्रभावित हुँदा बैठकको प्रत्यक्ष प्रसारण ‘लाइभ’ भने हाल अवरुद्ध छ। सचिवालयका सहसचिव दशरथ धमलाले मर्मत कार्य भइरहेकाले चाँडै प्रत्यक्ष प्रसारण सञ्चालन हुने जानकारी दिए।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आजको बैठकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।
यसैगरी प्रधानमन्त्री शाहका तर्फबाट मन्त्री गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
अर्थमन्त्री डा वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दै छन्।
त्यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । मन्त्री रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने आजेको कार्यसूची रहेको छ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। मन्त्री मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको अन्तिम कार्यसूची रहेको छ।